१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


नेता खड्काप्रति श्रद्धाञ्जलि दिनेको भीडः सभापति देउवा र पूर्वराजाद्वारा श्रद्धाञ्जलि अर्पण


0
Shares

काठमाडौं, चैत १८ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उनको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गरे ।

काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो ।

उनी मिर्गौला र छातीको संक्रमणबाट पीडित थिए ।

उनको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उनकै निवासमा राखिएको छ ।

यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उनको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ ।

उनको पार्थिव शरीर आज अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहले नेता खड्काको निधनप्रति शोक व्यक्त गरेका छन् ।

पूर्वराजाका तत्कालीन प्रमुख मुख्य सचिव पशुपतिभक्त महर्जन खड्काको निवास सानेपामा पूर्वराजाको सन्देश लिएर गएका थिए ।