२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मेची पुल निर्माण अन्तिम चरणमा, भन्सार कार्यालयको भौतिक संरचना अझै बनेन (भिडियो)


0
Shares

आगामी एक महिनाभित्रै पुल निर्माणको काम सकिने छ । तर, पुलको पूर्व र पश्चिमतर्फको सडक र भन्सार कार्यालयको भौतिक संरचना निर्माणको सुरसारसमेत नहुँदा पुलको भविष्य भने अनिश्चित देखिएको छ ।

पुल निर्माण सम्पन्न भए पनि पुल जोड्ने सडक र भन्सार कार्यालयको निर्माणमा अन्योल भएकाले मेची पुल प्रयोगविहीन हुने देखिएको छ । तर, दैनिक उपभोग्य सामान खरिद गर्न भारत जान अस्थायी पुलको प्रयोग गर्नुपर्ने बाध्यता भने हटेको छ ।

पुलको पूर्वपट्टी अर्थात् भारतीय भूमीको १०३ नम्बर सीमा पिलरसँग जोड्ने डेढ सय मिटर सडक र पश्चिमपट्टी नेपालको २ सय ९० मिटर लम्बाई र ३० मिटर चौडाई भएको ग्राभेल सडकसमेत पुल निर्माण कम्पनीले बनाउनुपर्ने सम्झौता भएको थियो ।

पूर्वपट्टी भारतको बंगाल तथा विहार राज्य पर्ने भएकाले सो सडकलाई विहार सरकारले जोडेर विस्तार गर्ने योजना अघि बढाइसकेको छ । तर, नेपालको भद्रपुर जोड्ने सडक बनाउन ठाउँका भौतिक संरचना अहिलेसम्म हटाइएको छैन ।

मुआब्जाको समस्या र नेपालतर्फको भन्सार कार्यालयको संरचना निर्माणमा सरकारले चासो नदिँदा पुल सञ्चालनमा समस्या हुने देखिएको भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ बताउँछन् ।

पुलको पश्चिम मुखदेखि झापा चोकसम्म १३ सय ३० मिटर लम्बाइ र ३० मिटर चौडाइ हुने गरि सडक निर्माण गर्नुपर्ने देखिएको छ । पुलको ठेक्कामा परेको २ सय ९० मीटर बाहेक बाँकी सडकको डीपिआरमात्र गरिएको छ ।

२०६६ साल माघ २१ गतेदेखि शुरु भएको पुल निर्माणको काम तीन वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्माणमा ढिलाई हुँदा ३३ करोडको लागतमा ९ वर्षपछि काम सकिन लागेको हो ।

स्थानीयको लामो पहलपछि निर्माण सम्पन्न हुन थालेको पुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

भिडियो हेर्नुहोस्