Logo २७ असार २०८३, शनिबार | Sun Jul 12 2026


माथिल्लो त्रिशूली थ्री ‘ए’ले दश महिनाभित्रै विद्युत् उत्पादन शुरु गर्ने


0
Shares

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिए ।

ज्याख्वाका अनुसार दुईवर्षअघि नै विद्युत् उत्पादन शुरु गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोध, क्षमता वृद्धिको विवाद र भूकम्पले क्षति पु¥याएपछि ढिलाइ हुँदै आएको आयोजनामा अहिले भइरहेको कार्य प्रगतिले विद्युत् उत्पादन तोकिएको समयमा पूरा गर्न सक्षम हुने निश्चित देखिएको छ ।

‘आयोजनाबाट अबको १० महिनाभित्र २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने गरी काम तीव्र बनाइएको छ,’ उनले भने, ‘दुईवटा युनिटमार्फत विद्युत् उत्पादन हुने भएकाले पहिलो युनिटबाट माघ २६ मा ३० मेगावाट विद्युत् उत्पादन शुरु हुने र दोस्रो युनिट विसं २०७५ वैशाख १७ मा विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्न सक्षम हुनेछौँ ।’

यो आयोजना चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) मार्फत क्यू सेभेन्टी उत्पादनको आधारमा ६० मेगावाट क्षमतामा निर्माण भइरहेको हो ।

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बाँधेर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत रहेको छ ।

सन् २०११ को जुन १ बाट काम शुरु भएको उक्त आयोजना २०१४ मे ३१ मा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

आयोजनाको निर्माण चीन सरकारको सहुलियत ऋण सहयोगमा आठ करोड ९१ लाख अमेरिकी डलर लाग्ने सम्झौता रकम तोकिएको छ । तर, तोकिएको समयमा निर्माणमा भएको ढिलाइले ११ करोड ५७ लाख अमेरिकी डलर खर्च हुने देखिएको आयोजना पक्षले जनाएको छ । (रासस)