
डडेल्धुरा, मंसिर ७ । डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोला भन्ने ठाउँमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा भएको दुर्घटनामा २६ जना घाइते भएका छन् ।
डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा हिजो बेलुकी पौने ६ बजेतिर बस दुर्घटनामा परेको हो । डोटीको शिखर नगरपालिका–१२ मा रहेको पिसजोन एकेडेमीको से१क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा १३ जना पुरुष र ५ जना महिलाको ज्यान गएको उपक्षेत्रीय अस्पतालले जनाएको छ । मृत्यु हुनेमा डोटी दिपायल सिलगढी नगरपालिकाकी शशी बिक, शिखर नगरपालिका–११ की गोमा भाट जोरा, सोही ठाउँका कैलाश रावल, योगेन्द्र रावल, रोहित बलायर, नवदुर्गा गाउँपालिका–३ का चक्र धामी, तिलक खाती र टेक धामी रहेका छन् । त्यसैगरी नवदुर्गा गाउँपालिका–३ की माया रावल, गोदावरी नगरपालिका–१० का पुरन कठायत, गोदावरी नगरपालिका–२ का केशव कठायत, शारदा कठायत, शिखर नगरपालिका–७ डोटीका योगेन्द्र बोहरा, शंकर जोरा, दिपायल सिलगढी नगरपालिका–८ की शारदा रावल, धनगढी उपमहानगरपालिका नारायण चौधरी, शिखर नगरपालिका– १० का सागर बलायर तथा सोही नगरपालिका–११ का पदम बिक रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाइतेमध्ये गम्भीर अवस्थाका १४ जनालाई कैलालीस्थित सेती अञ्चल अस्पताल र तीन जनालाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने अन्य ९ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्