
मंगलबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेक्रममा उनले श्वेतपत्रको बचाउ गर्दै यसमा गलत तथ्यांक प्रस्तुत् नभएको बताए । तथापि श्वेतपत्र निराशापत्र भनेर निराश नहुन पनि उनले आग्रह गरे ।
श्वेतपत्र संकल्पपत्रसमेत भएको भन्दै यसैलाई हेरेर समृद्धितर्फ प्रस्थान गरिने पनि प्रधानमन्त्री ओलीले जिकिर गरे ।
यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले पनि श्वेतपत्रमा उठाइएका अर्थतन्त्रका समस्या नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्ने बताए ।
मंगलबारै प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले श्वेतपत्रमार्फत् अर्थतन्त्रको यथार्थ तस्वीर ल्याएको दाबी गरे ।
उनले अर्थतन्त्रको संरचनागत समस्या रहेपनि अर्थतन्त्र नै ध्वस्त भएको नभनिएको पनि प्रस्ट पारे ।
यसअघि, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले श्वेतपत्रका नाममा सरकार अरुको टाउकोमा दोष थोपर्न उद्दत भएको भन्दै आपत्ति जनाएको थियो ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले श्वेतपत्रमा अर्थतन्त्रको जसरी त्रासदीपूर्ण चित्रण गर्न खोजिएको छ, त्यो उचित नभएको र प्रशस्त अवसर रहेकाले त्यसलाई सदुपयोग गर्न सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्