
काठमाडौं, मंसिर ६ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोड रुपैयाँ बराबरका सवारी–साधन र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड निर्माण गर्ने विषयको सरकारले बचाउ गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपतिलाई सुविधा दिने सरकारको दायित्व भएकाले त्यस्तो गर्न लागिएको बताए ।
सन्चारमन्त्री बाँस्कोटाको प्रश्न थियो–‘के राष्ट्रपतिले साइकल नै चढ्नुपर्यो त ?’
राष्ट्रपतिको सुरक्षा र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर प्रहरी प्रतिष्ठानलाई अन्यत्र सारेर हेलिप्याड बनाउन लागिएको मन्त्री बाँस्कोटाको तर्क थियो ।
त्यस्तै, उपराष्ट्रपतिको कार्यालय र निवास पनि समाजकल्याण परिषदको भवन रहेको स्थानमा सार्ने निर्णको पनि उनले बचाउ गरे ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने तत्वहरुले संवैधानिक संस्थाहरुको बदनाम गर्न खोजेको उनको आरोप थियो ।
संवैधानिक संस्थाहरुलाई बदनाम गर्दै गए ‘न्याउरी मारी पछुतो’ हुने अवस्था आउनेसक्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्