
अक्कल कुँवर/भरत केसी (इमेज)
काठमाडौं, मंसिर ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालय र संवैधानिक निकायका काम–कारबाहीको प्रत्यक्ष अनुगमन गर्न थालेका छन् ।
उनले मन्त्रालय, मन्त्री, सचिव, संवैधानिक अंगका पदाधिकारीको काम–कारबाही र प्रगति विवरणको अनुगमन थालेका हुन् ।
प्रधानमन्त्रीको कदम सकारात्मक भएको र सफल भए सरकारका काम–कारबाहीमा सकारात्मक नतिजा आउने विज्ञहरुको भनाइ छ ।
सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले मोबाइल एप बनाएर आफू मातहतका निकायको अनुगमन थालेका हुन् ।
उनले मातहतका निकायको काम–कारबाही, नीति तथा कार्यक्रम कार्यान्वयनको प्रगतिबारे सोही एपबाट अनुगमन गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबारदेखि आफू मातहतका निकायका मन्त्री, सचिव र पदाधिकारी बोलाएर बजेट र सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको समीक्षा पनि थालेका छन् ।
सरकार गठन भएको ९ महिना बितिसक्दा पनि प्रभावकारी काम गर्न नसकेको भन्दै आमनागरिकबाटमात्र नभइ आफ्नै पार्टीबाटसमेत आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले अनुगमन र समीक्षा तीव्र पारेका हुन् ।
सरकारका काम–कारबाही प्रभावकारी बनाउन प्रधानमन्त्रीले चालेको कदमप्रति सकारात्मक टिप्पणी भइरहे पनि सफल हुनेमा आशंका पनि उत्तिकै छ ।
पूर्वमुख्यसचिव विमल कोइरालाले मातहतका निकायमा प्रत्यक्ष अनुगमन गर्ने प्रधानमन्त्रीको कदमले सरकारका काम–कारबाहीले गति लिनसक्ने धारणा राखे ।
प्रधानमन्त्री कार्यालयको मौजुदा प्रविधि, जनशक्ति र इच्छाशक्तिका कारण प्रधानमन्त्रीको प्रत्यक्ष अनुगमनले परिणाम दिनेमा भने पूर्वमुख्यसचिव कोइरालाको आशंका छ ।
हुन त केही मन्त्रीहरुले सचिवलाई अगाडि राखेर आफूहरुको परीक्षा लिने काम भएको भन्दै प्रधानमन्त्रीको पछिल्लो कदमप्रति असन्तुष्टि जनाएका छन् ।
नियमित अनुगमन र समीक्षा असफल भए यसबाट नकारात्मक प्रभाव पर्ने कोइरालाको बुझाइ छ ।
प्रधानमन्त्रीले मन्त्रालयका काम–कारबाहीको अनुगमन गर्ने काम भने नयाँ होइन । विगतमा राष्ट्रिय योजना आयोगमार्फत् दुई/दुई महिनामा प्रधानमन्त्रीले आफू मातहतका निकायका अनुगमन गर्ने व्यवस्था थियो ।
तर, अहिले योजना आयोगले गरेको अनुगमन प्रभावकारी नहुने देखेका प्रधानमन्त्री ओलीले आफैं मातहतका निकायको अनुगमन गर्न थालेका छन् ।
प्रधानमन्त्रीको यो कदम सफल भए सरकारका काम–कारबाहीको परिणाम देखिने कतिपयको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्