मोदीलाई मुस्ताङ घुम्ने निम्तो दिन सुझाव (भिडियो) • Image Khabar Image Khabar


मोदीलाई मुस्ताङ घुम्ने निम्तो दिन सुझाव (भिडियो)


Imagekhabar
२२ चैत्र २०७४, बिहीबार १६:०८

मोदीलाई मुस्ताङ घुम्ने निम्तो दिन सुझाव (भिडियो)

प्रदेश नम्बर–४ को बिहीबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले राष्ट्रिय राजनीतिदेखि आ–आफ्नो जिल्लाका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभामा राष्ट्रिय राजनीतिदेखि गाउँगाउँका एजेन्डाले प्राथमिकता पाएका हुन् । प्रदेश नम्बर–४ को संसदमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका एजेन्डादेखि पोखराको फेवाताल संरक्षणसम्मका कुराले प्राथमिकता पाए ।

त्यसैगरी, सांसदहरुले प्रदेश संसदले बनाउने बजेटका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अधिकांश सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सडक स्तरोन्नतिदेखि जनजीविकाका सवाललाई बजेटमा समावेश गर्न सुझाव दिए ।

सांसद आशा खनालले पृथ्वी राजमार्ग विस्तारमा भइरहेको ढिलाइ र त्यसले पर्यटकदेखि यात्रीसम्मलाई पारेको असरबारे सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद इन्द्रधारा विष्टले मुस्ताङलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरे ।

उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणकाक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुस्ताङ घुम्ने निम्तो दिनसमेत सुझाव दिए ।

सांसद दीपक कोइरालाले ४ नम्बर प्रदेशसभा भवन लेखनाथमा सार्न सुझाव दिए ।

सांसद इन्द्रलाल सापकोटाले धवलागिरि अञ्चल अस्पतालको अस्तव्यस्तताबारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद हरिशरण आचार्यले फेवातालको संरक्षणमा चासो दिन आग्रह गरे ।

सांसद कृष्णबहादुर थापाले नदी किनारमा सन्चालित अवैध क्रसर उद्योग नियन्त्रण गर्न माग गरे ।

प्रदेशसभामा जनप्रतिनिधिको सुविधाबारे थप छलफल भएको छ । चैत १६ गते विधायन समितिमा पठाइएको विधेयकमाथि दफावार छलफल गरेर केही सुझावसहितको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत् गरिएको छ ।

सांसद कृष्णचन्द्र नेपाली संयोजक रहेको समितिले मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सुविधा प्रस्तावअनुसार नै ठीक भएपनि स्थानीय तहका प्रतिनिधिको सुविधामा हेरफेर गर्न सुझाव दिएको छ । यसबारेमा प्रदेशसभाको शुक्रबारको बैठकमा छलफल हुने तय भएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्