रमेश लम्साल (रासस)
भैरहवा, मंसिर ६ । राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको छ ।
हाल विमानस्थलको धावनमार्गमा धमाधम कालोपत्रको काम भइरहेको छ ।
सो विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीकाअनुसार करिब एक किमि धावनमार्गमा पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ ।
यही गतिमा काम भएको खन्डमा आगामी ४५ दिनभित्र पहिलो चरणको कालोपत्र काम सकिनेछ ।
धावनमार्गमा तीन तहको कालोपत्र गर्नुपर्ने भएकाले पहिलो चरणको काम सकिएपछि क्रमशः दोस्रो र तेस्रो चरणको कालोपत्र गर्न १५/१५ दिनको समय लाग्नेछ ।
विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ ।
आयोजनाको कुल लागत मूल्य अभिवृद्धि करसहित रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रहेको छ ।
आयोजना प्रमुख अधिकारीकाअनुसार हाल निर्माण व्यवसायीले दुईओटा अलकत्रा र गिट्टी घोल्ने यन्त्र जडान गरेर धावनमार्गमा कालोपत्र गरिरहेको छ ।
सन् २०१९ को जुन २८ सम्म सन्चालनयोग्य बनाउने गरी काम भइरहेको छ ।
राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगति न्यून र आशातीतरुपमा राम्रो नभइरहेको अवस्थामा गौतमबुद्ध विमानस्थलको काम लोभलाग्दो तवरले भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दैनिकजसो नै विमानस्थल निर्माणको प्रगतिबारेमा जानकारी लिने र समस्या आए समाधान पनि तत्काल नै गर्ने गरेका छन् ।
स्थलगत निरीक्षणका लागि बुधबार विमानस्थल पुगेका मन्त्री अधिकारीले आयोजना प्रमुख अधिकारीलाई सोधे–‘समस्या के छ ? अहिल्यै भनीहाल्नोस् ।’
आयोजना प्रमुखले तत्काल ‘खासै समस्या छैन’ भन्दै विमानस्थल निर्माणको प्रगतिबारेमा जानकारी गराए ।
आयोजना प्रमुख अधिकारीले भने–‘सामान्यरुपमा निर्माण व्यवसायीलाई भुक्तानी दिन केही रकमको अभाव छ । अरु त सबै काम युद्धस्तरमा भइरहेको छ ।’
उनका अनुसार एकदर्जन बढी निर्माण उपकरण धावनमार्ग कालोपत्र गर्न परिचालन गरिएको छ । विमानस्थलको अन्य भौतिक निर्माणको कामसमेत द्रुतगतिमा नै अगाडि बढाइएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, कार्यालय भवन, विद्युत् सबस्टेसन, अग्निनियन्त्रककक्ष, पानीट्यांकी, सुरक्षाकर्मीको आवासगृहको कामसमेत अन्तिम चरणमा पुगेको छ ।
कुल तीन हजार मिटर लामो धावनमार्गको कालोपत्र सकिएपछि आयोजनाको भौतिक प्रगति ७० प्रतिशतमाथि पुग्ने दाबी गर्दै आयोजना प्रमुख अधिकारीले भने–‘सरकारको चासो, राष्ट्रिय आवश्यकताका आधारमा पनि हामी तोकिएको समयअगावै विमानस्थल निर्माण सम्पन्न गर्छौं ।’
ट्याक्सीवेको निर्माण भने सम्पन्न भइसकेको छ । सन्चालनमा रहेको धावनमार्गलाईसमेत उपयोग गर्ने नीति लिइएको छ ।
उनकाअनुसार धावनमार्ग, अन्तर्राष्ट्रिय एप्रोन तथा अन्य भौतिक निर्माणको कामसँग एअर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानका लागिसमेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
सो विमानस्थलमा बोइङ ७७७–२०० सम्मका जहाज उडान तथा अवतरणलाई योग्य हुनेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोसमेत विकल्पमा सो विमानस्थललाई सन्चालनमा ल्याउन सकिनेछ ।
राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको र कुनैपनि समस्या हुन नदिइएको मन्त्री अधिकारीको भनाइ थियो ।
‘हामीले नियमित अनुगमन गरिरहेका छौं । सामान्यदेखि जटिल समस्यासमेत समाधान गरिएको छ । आयोजना, निर्माण व्यवसायी, परामर्शदाता तथा अन्य सरोकार भएका सबै निकायलाई पनि उत्तिकै परिचालन गरिएको छ । आशा गरौं, आगामी जेठभित्र सो विमानस्थल सन्चालनमा आउनेछ ।’
धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानका लागिसमेत बोलपत्र तथा अन्य प्रक्रियागत कामलाई तीव्रता दिइएको छ । बोलपत्रको प्रक्रिया पनि केही दिनभित्रै टुंगो लाग्नेछ ।
विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने बाँकी काम दुई महिनाभित्र सकिनेछ । विमानस्थल परिसरमै रु एक अर्ब लागतको कार्गो भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
आयोजनाका लागि थप ५०० विगाहा जग्गा अधिग्रहण गर्नुपर्नेछ । हालसम्म अधिग्रहण गर्न रु १० अर्ब खर्च भइसकेको छ । बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिनेछ ।
सन्चालनमा रहेको धावनमार्गलाई पार्किङस्थल बनाएर निर्माणाधीन धावनमार्ग नै सन्चालनमा ल्याउने तयारी गरिएको मन्त्री अधिकारीको भनाइ थियो ।
सन् २०१९ सम्ममा त्यहाँबाट अन्य गन्तव्यमासमेत उडान गरिनेछ ।
निर्माण व्यवसायी चिनियाँ कम्पनी ग्रुपका परियोजना निर्देशक सुइले पनि विमानस्थल निर्माणमा कुनैपनि समस्या हुन नदिन आफूहरु प्रयत्नशील रहेको र तोकिएको समयभित्रै सम्पन्न गरिने जानकारी दिए ।
‘हामी प्रयत्नशील छौं । सबै प्रकारको क्षमताको उपयोग गरेका छौं । प्रगति असाध्यै राम्रो भइरहेको छ । यो काममात्रै होइन, नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा उठाउने अभिभारा पनि हो’–सुइले भने ।
भैरहवा विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सन्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्री क्षमता रहेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षकारुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
सोही लक्ष्यलाई पूरा गर्न र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवर्धन गर्नसमेत सहयोग पुग्नेछ ।









प्रतिक्रिया दिनुहोस्