नेपालको अब समुद्रसम्मको पहुँच सहज, रेलमार्गमा भारतको सहयोग : मोदी • Image Khabar Image Khabar


नेपालको अब समुद्रसम्मको पहुँच सहज, रेलमार्गमा भारतको सहयोग : मोदी


Imagekhabar
२४ चैत्र २०७४, शनिबार १४:२९

नेपालको अब समुद्रसम्मको पहुँच सहज, रेलमार्गमा भारतको सहयोग : मोदी

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आजको औपचारिक भेटमा कोसी नदी हुँदै समुद्रसम्म सामान ओसार–पसार गर्ने विषयमा सहमति भएको उल्लेख गरे ।

प्रधानमन्त्री मोदीले ‘सगरमाथाको देश अब सागरससम्म पनि पहुँच हुनेछ’ भन्दै ‘नेपाल अब ल्यान्ड लिंकमात्र होइन वाटर लिंक पनि हुनेछ’–भने ।

मोदीले नेपाललाई जलमार्ग र रेलमार्गमा जोड्न भारतले सहयोग गर्ने बताउँदै काठमाडौंलाई भारतसँग जोड्ने रेलमार्गका विषयमा दुवै देशले मिलेर काम अघि बढाउने सहमति भएको पनि बताए ।

तीन तहका निर्वाचन सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले यसका लागि नेपाली जनता र सरकारलाई अभिनन्दन गर्न चाहेको बताए ।

‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ, प्रधानमन्त्री ओली सम्मृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा हुनुहुन्छ, यो अभियानमा भारत कसरी सहभागी हुनसक्छ भन्नेबारे हामीले छलफल ग¥यौं’–मोदीले भने ।

सार्वभौम देश नेपालको सरकारले प्राथमिकतामा राखेका योजनाहरुलाई नेपाल सरकारको आग्रहको आधारमा आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता उनको थियो ।

नेपाल र भारतबीच रक्षा र सुरक्षाका विषयमा गहन सम्बन्ध रहँदै आएको भन्दै प्रधानमन्त्री मोदीले सीमापार हुने अपराधिक क्रियाकलाप, संयुक्त सैन्य गतिविधिलगायतका विषयमा सहकार्य गरिने पनि उल्लेख गरे ।

मोदीले लामो समयदेखि चर्चामा रहेका पञ्चेश्वर, सप्तकोसी र सुनकोसीजस्ता ठूला जलविद्युत् तथा बाँध परियोजना अघि बढाउने उल्लेख गरे ।

मिलेर विकासमा अघि बढ्ने भन्दै उनले रामायण र बुद्धिस्ट संगीतको विकास गर्ने एवं शिक्षा र जनस्तरको विकासमा जोड दिने बताए ।

नेपाल र भारतबीच नमुना सम्बन्ध
प्रधानमन्त्री ओलीले भने नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतको समृद्धिमा एकर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने चाहना रहेको उल्लेख गर्दै यसले दुवै देशको समृद्धि सँगसँगै हुने विश्वास व्यक्त गरे ।

आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने भन्दै ओलीले दुई छिमेकीबीचको सम्बन्ध २१औं शताब्दीको यथार्थताको आधारमा हुने प्रस्ट गरे ।

तीनै तहको चुनावपछि नेपाल राजनीतिक स्थायित्वसँगै सामाजिक–आर्थिक विकासको बाटोमा रहेको भन्दै उनले यसमा भारतको सहयोग र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

यस भ्रमणले नेपाल र भारतबीच उच्च राजनीतिक तहमा उच्च सम्बन्ध विकास गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्