काठमाडौं, मंसिर ६ । टि–२० फरम्याटमा उत्कृष्ट प्रदर्शन गर्दैै विभिन्न मुलुकमा व्यावसायिक रुपमा हुने गरेका प्रतियोगितामा सहभागी जनाउँदै आएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटको सबैभन्दा सानो प्रारुप ‘टी–१०’ मा पनि आफ्नो जादूमयी प्रदर्शन गरेका छन् ।
युएई क्रिकेट बोर्डको आयोजनामा शारजहामा भएको प्रतियोगितामा आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप म्यान अफ दि म्याच हुन सफल भएका छन् ।
गएराति सम्पन्न खेलमा सन्दीपले २ ओभर बलिङ गर्दै तीन विकेट लिएर १७ रनमात्र दिए । १०–१० ओभरको यो खेलमा एउटा बलरले बढीमा दुई ओभरमात्र बलिङ गर्न पाउँछ ।
टि–१० मा सन्दीपले केरला किंग्सबाट खेलेका हुन् । पख्तुन्सविरुद्धको खेलमा केरलाका लागि विकेट लिने सन्दीप एक्ला खेलाडी बने ।
पख्तुन्सले निर्धारित १० ओभरमा पाँच विकेटको क्षतिमा १०९ रन बनाएको थियो । पख्तुन्सले गुमाएको पाँच विकेटमध्ये तीन विकेट सन्दीले आफ्नो नाममा लेखाउँदा बाँकी दुई विकेट रनआउटका रुपमा गुमेको थियो ।
जवाफी ब्याटिङमा केरलाले दुई विकेटको क्षतिमा सात ओभर पाँच बलमा लक्ष्य पुरा गरेको हो ।
सन्दीपलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्