Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


विसु पर्वको चहल पहल सुरु, पर्व मनाउन घर फर्कनेको लर्को


0
Shares

गहुँबाली लगाएर भारततिर रोजगारीमा गएकाहरु पनि विसु पर्व मनाउनका लागि घर फर्किने भएकाले गाउँघरतिर निकै रमझम हुने गर्दछ । नयाँ बर्षलाई स्वागत गर्नका लागि गाउँगाउँमा लिङ्गो (कांकर) गाड्ने गरिन्छ ।
महिलाहरु माइती गएर आशिर्वाद थाप्ने चलन छ ।

नयाँ वर्षको अवसर पारेर विभिन्न विद्यालय तथा युवा र बाल क्लवहरुले सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्दछन् ।

‘बुढी माइतै बाली माइतै विसु खी बखत, कि रातो गुराउँसी फुल कि रातो रगत’ विसुको सन्दर्भमा गाइने चर्चित देउडा गीत गाउँदै स्थानीय कलाकार उमाशंकर जोशीले भने, ‘विसु हाम्रो संस्कृति हो, यसलाई बिर्सने त कुरै हुँदैन ।’

बर्षभरीको कामको चटारोलाई बिर्सेर पर्वमा यहाँका बासिन्दा रमाउने गर्दछन् ।

‘विसु सकिएपछि अन्न भित्र्याउने काम सुरु हुन्छ, त्यसपछि फेरि रोजगारीका लागि भारत जाने परम्परा यहाँको छ,’ जयपृथ्वी नगरापालिका कैलासका देवीजंग सिंहले भने, ‘यस वर्ष लगाएको बाली भित्र्याएर फेरि रोजगारी खोज्न भारत जान्छु ।’
धेरैजसोलाई रोजगारीकोे चिन्ताले विसु खल्लो हुने गरेको उनले बताए ।

विसु पर्वमा विस झार्ने भन्दै देवर–भाउजुबीच सिस्नो लगाएर रमाइलो गर्ने प्रचलन पनि यहाँका केही गाउँमा विद्यमान छ । बैसाख १ गतेको दिन बिहान झिसमिसे मै उठेर आकाशका तारा हेरेमा बर्षभरी नै सर्प नदेखिने र सर्पले दुःख नदिने जनविश्वास समेत छ ।

विसु पर्व मनाउनकै लागि अहिले स्थानीय बासिन्दाहरु आफ्नो घर लिपपोत गर्न थालेका छन् ।