२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बिर्सियो चैत २६ !


0
Shares

नेपाली कांग्रेस र वामपन्थी पार्टीहरु सम्मिलित वाम मोर्चाले आह्वान गरेको संयुक्त आन्दोलन शिखरमा पुगेपछि राजा वीरेन्द्रले चैत २६ गते राति पञ्चायती व्यवस्था खारेज गर्दै बहुदलीय राजनीतिक प्रणाली अवलम्बन गर्ने घोषणा गरेका थिए ।

नेपाली कांग्रेस र वाममोर्चाले सोही वर्ष फागुन ७ गतेदेखि आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंह थिए भने कृष्णप्रसाद भट्टराई, गिरिजिाप्रसाद कोइराला, मनमोहन अधिकारी, सहाना प्रधान, राधाकृष्ण मैनालीलगायतका नेताहरु अग्रणी मोर्चामा थिए ।

देशैभर एकैपटक सुरु भएको जनआन्दोलनले चैत २४ गते उग्ररुप लिएको थियो । आन्दोलनकारीहरु दरबारमार्गमा हजारौंको संख्यामा भेला भएर नारायणहिटी दरबारतर्फ अगाडि बढ्न थालेपछि सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो संख्यामा हताहती भएको थियो । आन्दोलनकाक्रममा दुई दर्जन बढीको साहदत भएको थियो ।

आन्दोलनकैबीचमा दरबारले तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरेको थियो ।

तैपनि आन्दोलन झन् चर्कने छाँट देखिएपछि राजा वीरेन्द्रले आन्दोलनकारी नेताहरुलाई दरबारमा बोलाएर सम्झौता गर्दै चैत २६ गते राति बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए ।

त्यसपछि कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार बनेको थियो भने संविधान निर्माणका लागि संविधान सुझाव आयोग गठन भएको थियो ।

सो आयोगले संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रसहितको राजनीतिक प्रणाली रहने संविधान बनाएको थियो । जुन २०४७ कात्तिक २३ गते घोषणा गरिएको थियो ।

केही वर्षयता भने चैत २६ लाई बिर्सन थालिएको छ । राज्यस्तरमामात्रै नभइ जनस्तरमा पनि २६ को त्यो उपलब्धिलाई सम्झने जाँगर गरेको पाइँदैन ।