श्वेतपत्रमा देखाएजस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : कांग्रेस • Image Khabar Image Khabar


श्वेतपत्रमा देखाएजस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : कांग्रेस


Imagekhabar
२६ चैत्र २०७४, सोमबार १८:३२

श्वेतपत्रमा देखाएजस्तो मुलुकको अर्थतन्त्र कमजोर छैन : कांग्रेस

कांग्रेसद्वारा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहीत सन्दर्भ गाँसेर श्वेतपत्रमा असन्तुलितरुपमा तथ्यांक प्रस्तुत् गरी अबौद्धिक र अव्यावहारिक चरित्र देखाएको टिप्पणी गरे ।

प्रवक्ता शर्माले भने–‘राजनीतिकरुपमा हाम्रा भिन्न दार्शनिक वा मुद्दागत द्वन्द्व हुन सक्दछन् र छन् पनि तर आजका राजनीतिक उपलब्धि हामी सबैको साझा प्रयासको प्रतिफल हो, त्यसलाई संस्थागतरुपमा समृद्धिको दिसामा अघि बढाउनु कांग्रेसको कर्तव्य हो ।’

‘१० वर्षको समयमा देशको अर्थतन्त्र बिग्रँनुमा कांग्रेसमात्र नभइ अन्य कम्युनिष्ट पार्टी पनि जिम्मेवार छन्’–कांग्रेसद्वारा जारीे प्रेस विज्ञप्तिमा भनिएको छ–‘मुलुकमा ६ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न कांग्रेसलाई नै अवसर जुरेको छ ।’

मुलुकमा बाह्य देशप्रतिको परनिर्भरता घट्दै गएपनि त्यसलाई श्वेतपत्रले समेट्न नसकेको उल्लेख गर्दै विज्ञप्तिमा विगतको २५ वर्षमा कांग्रेसले गरेको २२ उपलब्धिलाई समेटिएको छ ।

कांग्रेसको एजेन्डामा चुनाव जितेको आरोप
वाम गठबन्धनले नेपाली कांग्रेसको एजेन्डालाई नै लिएर चुनाव जितेको कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आरोप लगाए ।

सानेपास्थित पार्टी कार्यालयमा ‘श्वेतपत्र’ विषयक पत्रकार सम्मेलनमा उनले भने–‘श्वेतपत्रमार्फत् नेपाली कांग्रेसले अर्थतन्त्र बिगारेको तर्क दिनु सरासर गलत हो ।’

नेता डा. महतले एमालेको अहिलेको कार्यकालमा देशको अर्थतन्त्र झनै कमजोर बन्नसक्ने आरोप लगाउँदै शेरबहादुर देउवा प्रधानमन्त्री रहँदा थुप्रै कुराहरुलाई कार्यान्वयनमा पुर्‍याएपनि नयाँ सरकारले त्यसलाई कार्यान्वयन हुन नदिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डललाई आफ्नो पार्टीकेन्द्रितमात्र गर्न खोजेको आरोप लगाउँदै उनले सबैलाई हातेमालो गरेर लान नसके देशले निकास पाउन नसक्ने धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्