
सवारी चालकको काम गर्ने भानुभक्त थापाले दुई महिना लगाएर सडक स्तरोन्नति गरी नमूना बनाएका हुन् । सडक मर्मत तथा स्तरोन्नतिको जिम्मा पाएपछि भकिम्लीका थापाले दुई महिनासम्म गाडी चलाउने पेशा छाडेर काममा खटिएका थिए ।
बेनी–बगरफाँट–दूधेखोला हुँदै भकिम्ली जोड्ने सडक मर्मत तथा स्तरोन्नतिमा नगरपालिकाले विनियोजन गरेको २४ लाख १२ हजार रुपैयाँ अपुग भएपछि जोखिमपूर्ण सडक मर्मतमा स्थानीयबासीले समेत ५ लाख रुपैयाँ बराबरको जनश्रमदान गरेर थापालाई जिम्मा दिएका थिए ।
उनले विनियोजित बजेटबाट अति जोखिमपूर्ण मानिएको आपाँरुखमा ८४ मिटर ढलान गर्ने, विभिन्न ६ ठाउँमा तारजाली राख्ने, घुम्ती सुधार, ग्रेड मिलान, साँधुरो र भिरालो जमिनमा पक्की वाल बनाउँदै सडक फराकिलो बनाएका छन् ।
दूधेखोला–भकिम्ली सडक निर्माण आयोजनाकी सचिव रुपा क्षेत्रीले सडक मर्मतमा स्थानीयले आफ्नो घरायसी कामसमेत छोडेको बताईन् । उनले सडकमा दैनिक आवतजावत गर्ने चालक नै अध्यक्ष भएपछि सडकले नयाँ रूप पाएको बताइन् ।
करिव १४ किलोमिटरको सडकबाट भकिम्लीका ६ सय घरधुरी लाभान्वित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्