हिमाल पौडेल (इमेज)
काठमाडौं, मंसिर ५ । नेपाल वायुसेवा निगमले खरिद गरेको ‘वाइडबडी’ विमान नयाँ हो वा होइन ? भन्ने विषय केही दिनदेखि निकै चर्चामा छ ।
विमान खरिदमा अनियमितता भएको आंशका गर्दै सरकार र निगम व्यवस्थापनको आलोचना पनि भइरहेको छ ।
विमान खरिदमा शंका देखिएपछि प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्न थालेको छ ।
निगम व्यवस्थापनको आलोचना यसकारण पनि भइहरेको छ कि विमान नयाँ हो वा ‘लिज’ अर्थात् भाडामा हो ? भन्ने विषय उसले लुकाइरहेको आशंका गरिएको छ ।
निगमले हालै श्वेतपत्र जारी गर्न आयोजना गरेको पत्रकार सम्मेलनमासमेत यस विषयमा कुरा गर्न व्यवस्थापनले नमानेपछि थप आशंका बढेको हो ।
विमान खरिद वा भाडामा लिँदा भ्रष्टाचार भएको आशंकासहित समाचार सार्वजनिक भएपछि संसदको सार्वजनिक लेखा समितिले पनि चासो देखाएको छ ।
समितिका सदस्य सांसदहरुले यस विषयमा कुरा उठाएपछि थप कुरा बुझ्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, निगमका कार्यकारी अध्यक्ष र प्रबन्ध निर्देशकलाई बोलाउने निर्णय गरिसकेको छ ।
विवाद बढेपछि यसअघि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसै विषयमा छानबिन गर्न कार्यदल गठन गरेको थियो । सो कार्यदलले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा विमान खरिद प्रक्रियामा कुनै अनियमितता नभएको उल्लेख गरेको जनाइएको छ ।
मन्त्रालयका सहसहचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा गठन उक्त कार्यदलको प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।
निगमको पहिलो वाइडबडी विमान २०७५ असार १४ गते र दोस्रो साउन १० गते काठमाडौं आइपुगेको थियो ।
निगमले दुईथान वाइडबडी जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात् २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गरेको भनिएको छ ।
अनियमितता भएको आशंका भइरहेका बेला निगम व्यवस्थापनले तत्काल विमान खरिद वा भाडामा के हो ? बताउन जरुरी छ ।
अर्कोतर्फ खरिद वा भाडामा जे भएपनि भ्रष्टाचारका विषयमा सत्यतथ्य जानकारी औपचारिकरुपमा नागरिकलाई गराउनु मुनासिव देखिन्छ ।
मन्त्रालयले आफैंले तदारुकताका साथ यसमा छानबिन गरी दोषीलाई कारबाही नगर्ने हो भने भ्रष्टाचारको आशंकामा थप बल पुग्ने नै छ ।










प्रतिक्रिया दिनुहोस्