
चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा मंगलबार आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गरे ।
सौर्यऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ ओटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो ।
करिब रु ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रीडमा जोडिनेछ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सौर्य प्रणाली मुलुकको आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना भएको र यस्ता आयोजनालाई अन्य क्षेत्रमा पनि विस्तार गर्नसके समृद्धिको यात्रामा सहयोग सिद्ध हुने विश्वास व्यक्त गरे ।
उनले नेपालजस्तो भौगोलिक विविधतायुक्त मुलुकमा सौर्यऊर्जा प्रणाली अतिउपयोगी र सान्दर्भिक हुने भन्दै यसलाई समृद्धिको आधारकारुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले मुलुक राजनीतिक संक्रमण व्यवस्थापन गरी आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै समृद्धिको यस अभियानमा अधिक उद्योग स्थापना र रोजगारी सिर्जना गर्न तथा पूर्वाधार विकास, सम्पर्क सञ्चाल विस्तारका निम्ति सरकारको ध्यानकेन्द्रित भएको उल्लेख गरे ।
‘दोहोरो अंकको आर्थिक वृद्धि र परिणाम देखिने गरी देशको विकास गरेर जनतालाई अनुभूत गराउँछौं, त्यसका लागि हाम्रा काम–कारबाहीलाई तीव्रगतिमा अघि बढाउन जरुरी हुन्छ’–उनले भने ।
चीनसँगको सदियौंदेखिको पारस्परिक सम्बन्धलाई थप उचाइमा पुर्याइ आपसी हितका साझा कार्यक्रमलाई समन्वयात्मक ढंगले अघि बढाइने प्रधानमन्त्रीको भनाइ थियो ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले परियोजनाबारे जानकारी दिँदै वातावरण व्यवस्थापन र विकासमा सौर्यऊर्जा परियोजना महत्वपूर्ण भएको बताए ।
चिनियाँ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्यऊर्जा महत्वपूर्ण परियोजना भएको उल्लेख गरिन् ।
चीन विश्व अर्थतन्त्रको शक्तिशाली मुलुक भएको र पर्यटनको हिसाबले पनि अथाह सम्भावना रहेको भन्दै उनले नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाइन् ।
यसअघि, उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिकरुपमा हस्तान्तरण गरिएको थियो ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङले सम्पन्न परियोजनामा हस्ताक्षर गरे ।
सो अवसरमा प्रधानमन्त्री ओली, चिनियाँ राजदूत होङलगायतले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको सौर्य प्रणालीको अवलोकन गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्