
दिप्रुङ गाउँपालिका–६ छितापोखरीका उद्यमी युवराज तामाङले मछिनो झार प्रशोधन गरी तेल उत्पादन गर्ने उद्योग स्थापना गरेर गाउँमा रोजगारीको अवसर सिर्जना गरेका हुन् ।
युवा उद्यमी तामाङले गाउँमै पाइने मछिनो भन्ने एक प्रकारको झारलाई प्रशोधन गर्दै मछिनो उद्योग स्थापना गरेर तेल उत्पादन गर्दै आएका छन् । उनको उद्योगमा मासिक ९ जना र मछिनो ल्याउनेसमेत गरेर दैनिक २० देखि २२ जनाले रोजगारी पाइरहेका छन् ।
तामाङले ‘मछिनो’ प्रतिकेजी ७ रुपैयाँका दरले किन्ने गरेका छन् । एक लिटर मछिनोको तेल निकाल्न १२ सय केजी मछिनो झार आवश्यक पर्छ । मछिनोको तेल हार्डजोर्नी तथा नसासम्बन्धी समस्या भएकाहरुका लागि विशेष उपयोगी मानिन्छ ।
उनको उद्योगमा दैनिक २५ सयदेखि ३ हजार केजीसम्म मछिनो आउने गरेको छ । शुरु शुरुमा २५ सय प्रतिकेजीको दरले बिक्री हुने गरेको मछिनोको तेल अहिले ४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले आफूले उद्योग सञ्चालन गरेको तामाङ बताउँछन् ।
उद्योगमा दुईवटा मछिनो प्रशोधन गर्ने मेसिन राखिएको छ । उद्योगले दैनिक साँढे सात केजी तेल उत्पादन गर्ने गरेको छ ।
गाउँमै खेर गइरहेको घाँस संकलन गरेर उद्योगमा बिक्री गर्दा स्थानीय पनि खुसी भएका छन् । मछिनो बिक्रीबाट स्थानीयको जीवनस्तरमा सुधार आएको स्थानीय मीनराज तामाङले बताए ।
युवा उद्यमी तामाङले मछिनोसँगै २० रोपनी जग्गामा सतुवा, पाखनवेद, पदमचाल, चिराईतो, लोडसल्लालगायतका जडिबुटीको खेतीसमेत गरेका छन् ।
त्यसैगरी माहुरी पालन, बंगुरपालन र माछापालनमा पनि उनको सक्रियता बढ्दै गएको छ । उनी गाउँमा उद्योगपतिको रुपमा परिचित हुन थालेका छन् ।
श्रीमानको मेहनतले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुन थालेपछि श्रीमती रमा पनि निकै खुसी भएकी छन् ।
तामाङले उद्योगबाट गरेको आम्दानी छोराछोरीको शिक्षामा खर्च गर्नुका साथै बैंकमा जम्मा गर्दै आएका छन् । आर्थिक रुपमा सम्पन्न हुनुभन्दा पनि गाउँमै रोजगारी सिर्जना गरेर गाउँलेलाई खुसी पाउन सकेकोमा उनी सन्तुष्ट देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्