
बाहिरबाट हेर्दा निकै रमाइलो देखिने यो जात्राको आफ्नै कथा र व्यथा छन् । जात्रामा द्रौपदीकोरुपमा नृत्य प्रस्तुुत गर्ने सिंह, भीमसेनकोरुपमा नृत्य गर्ने डुम्ह, बालकुमारी साथै श्वेतभैरव बन्ने बालकहरुको भने शैक्षिक क्षेत्रमा नराम्रो असर परिरहेको छ ।
नवदुर्गा देवगणद्वारा चलाइने नवदुर्गा जात्रामा बालबालिका प्रयोग गरिने पुरानो प्रचलन हो । जात्रा हेर्दा मानिसलाई मनोरन्जन त हुन्छ । तर, यस जात्रामा लाग्दा बालबालिकाको शिक्षामा भने उत्तिकै असर परिरहेको छ ।
मल्लकालदेखि सुरु भएको नवदुर्गा देवगणले चलाउने न्याँ ल्याकेगु जात्रा भक्तपुरमामात्र सीमित नभएर अरु ठाउँमा पनि जाने गर्दछ ।
परापूर्वकालमा भर्खरै बस्न थालेको बस्तीमा पुगी त्यहाँका मानिसलाई सचेत बनाउन यो जात्रा सुरु गरेको विश्वास गरिन्छ ।
ठिमी, पनौती, बनेपालगायत उपत्यकाका विभिन्न ठाउँमा वर्षेनि मनाइने यो जात्रा माघ महिनाबाट सुरु हुन्छ र असारसम्म निरन्तर चल्दछ ।
जात्रामा द्रौपदीकारुपमा नृत्य गर्ने सिंह, भीमसेनकारुपमा नृत्य गर्ने डुम्हको भूमिका साना चारजना बालकले निर्वाह गर्ने गर्छन् ।
८ महिनासम्म यो जात्रामा लाग्नुपर्दा ती बालकको शिक्षामा भने निकै असरपर्ने देखिन्छ । जात्राकै कारण उनीहरु विद्यालय जान सक्दैनन् ।
अझ सगुनका नाममा बालकलाई दिइने मादकपदार्थले उनीहरुलाई झन् ठूलो असर पारिरहेको छ ।
एकातिर विद्यालय जानबाट बन्चित हुनुपर्ने अर्कातिर सानैदेखि मद्यपानको लतमा फस्दा उनीहरुको भविष्य के हुने भन्ने खतरा छ । न्याँ ल्याकेगु जात्रामा ठूला सिंह डुम्ह र साना सिंह डुम्ह हुने गर्दछन् । त्यसकारण ती बालकलाई नै देवगण बनाउनुपर्ने देवगणका सदस्य बताउँछन् ।
नवदुर्गा जात्राका पूर्वनाइके इन्द्रबहादुर बनमाला जात्रामा पहिल्यैदेखि चल्दै आएकाले सोही अनुसरण गरिएको बताउँछन् ।
यसपटकको नवदुर्गा जात्रामा सिंहकारुपमा १० वर्षीय रोशन बनमाला, डुम्हको भूमिकामा ११ वर्षीय सुशान्त बनमाला, बालकुमारीकारुपमा ९ वर्षीय देव बनमाला र श्वेतभैरवकारुपमा रोजन बनमाला छन् ।
डुम्ह बन्दै आएका सुशान्त बनमाला आफू नियमित विद्यालय जान नपाएको गुनासो गर्छन् ।
विभिन्न देवहरुको भूमिका निर्वाह गरेका पूर्वदेवगण र यस वर्षको डुम्हका बुवा बालगोपाल बनमाला पनि छोराले सहजरुपमा शिक्षा नपाएको गुनासो गर्छन् ।
प्रतिक्रिया दिनुहोस्