यी संस्थाले गराएनन् लेखापरीक्षण, प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार • Image Khabar Image Khabar


यी संस्थाले गराएनन् लेखापरीक्षण, प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार २०:३६

यी संस्थाले गराएनन् लेखापरीक्षण, प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार

महालेखापरीक्षक टंकमणि शर्माले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन हस्तान्तरण गरी सार्वजनिक गरेका हुन् ।

बेरुजु वर्षेनि बढ्दै गएको प्रतिवेदने देखाएको छ । कुल बेरुजु ५ खर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कारबाही गरी टुंगो लगाउनुपर्ने ३ खर्ब ९६ अर्बसहित कुल बेरुजु ५ खर्ब ८ करोड पुगेको हो ।

यही वर्ष बेरुजु २६ प्रतिशतले बढेको हो । यो वर्षसम्मको सरकारी कार्यालयको बेरुजु २ खर्ब १३ अर्ब, स्थानीय तहको १४ अर्ब २५ करोड, जिल्ला समन्वय समितिहरु ६२ अर्ब ६१ करोड, राजश्व बक्यौता १ खर्ब ६१ अर्ब, शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान २० अर्ब ५८ करोड, शोधभर्ना लिन बाँकी बैदेशिक ऋण २२ अर्ब ३८ करोड पुगेको छ ।

सरकारी कार्यालयतर्फ सबैभन्दा बढी बेरुजु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ ।

भौतिक पूर्वाधारलाई अर्थ, संघीय मामिला तथा स्थानीय विकास, शिक्षा, रक्षा, खानेपानी तथा सरसफाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, सिँचाइ र गृह मन्त्रालयले पच्छ्याएका छन् ।

यता, गुठी संस्थान, नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय आवास कम्पनी, जनक शिक्षा सामग्री केन्द्र, नागरिक लगानी कोष, नेपाल रेल्वे कम्पनी र साँस्कृतिक संस्थानले आर्थिक वर्ष २०७३÷०७४ को लेखापरीक्षण गराएका छैनन् ।

यस्तै, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनीले २०६९/०७० देखिको लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, नेपाल पर्यटन बोर्ड, नेपाल खानेपानी संस्थान, नेपाल खाद्य संस्थान, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, गोरखापत्र संस्थान, नेसनल ट्रेडिङ, पशुपति विकास कोष र त्रिभुवन विश्वविद्याल र अन्तर्गतका निकायहरुको पनि लेखापरीक्षण नभएको जनाइएको छ ।

यसपटक प्राविधिक सहायता, दूरसन्चार सेवा दस्तुर, करको दायरा, वर्षान्तमा अख्तियारी र खर्च, सेयरको पुँजीगत लाभकरलगायतका थुप्रै क्षेत्रमा अध्ययन भइ सुझाव प्रस्तुत गरिएको पनि महालेखापरीक्षक शर्माले उल्लेख गरे ।

नेपालीको प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार रुपैयाँ पुगेको पनि सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्