सेयरमा लगानी गर्नेले स्रोत खुलाउनुपर्ने, यस्तो छ नयाँ व्यवस्था • Image Khabar Image Khabar


सेयरमा लगानी गर्नेले स्रोत खुलाउनुपर्ने, यस्तो छ नयाँ व्यवस्था


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार २०:४३

सेयरमा लगानी गर्नेले स्रोत खुलाउनुपर्ने, यस्तो छ नयाँ व्यवस्था

नेपाल धितोपत्र बोर्डकाअनुसार स्रोत नखुलेको लगानीलाई थप कडाइ गर्ने नीति लिइएको छ । सो नीति आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ ।

बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ बोर्ड बैठकद्वारा बिहीबार पारित गरेको जनाएको छ ।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार नयाँ निर्देशिका कार्यान्वयनमा आएलगत्तै सेयरमा अदृश्य लगानीमा कडाइ हुने भएको हो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाइ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उद्देश्यले बोर्डले सो निर्देशिका कार्यान्वयनमा ल्याउन लागेको हो ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

नयाँ निर्देशिकामा सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सन्चालन गर्दा कानुनको पालना र उच्च नैतिक मापदन्डको पालना र अनुशरण गर्नुपर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापसम्बन्धी प्रचलित कानुनको कार्यान्वयन र त्यससम्बन्धी कसुरको अनुसन्धानमा कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने विषय समेटिएको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापविरुद्धका काम–कारबाहीलाई प्रभावकारीरुपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीका लागि तालिमको व्यवस्था गर्नुपर्ने, सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचानसम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संस्थाले आफ्नो व्यवसायको सिलसिलामा बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न वा कारोबार गर्न, गराउन नहुने, बेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको भए त्यस्तो खाता वा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्ने, ग्राहकको सही पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने उल्लेख छ ।

एक दिनमा पटक–पटक वा एकैपल्ट रु १० लाखभन्दा बढीको कारोबारको जानकारी वित्तीय जानकारी इकाइमा दिनुपर्ने, शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाइमा अनिवार्य दिनुपर्ने, ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचानसम्बन्धी उपयुक्त उपाय अपनाउनुपर्ने निर्देशिकामा समेटिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्