१५ दिने पदयात्रामा रमाउन तीन भारतीय पूर्वराजदूत डोल्पा पुगे • Image Khabar Image Khabar


१५ दिने पदयात्रामा रमाउन तीन भारतीय पूर्वराजदूत डोल्पा पुगे


Imagekhabar
३० चैत्र २०७४, शुक्रबार १५:०४

१५ दिने पदयात्रामा रमाउन तीन भारतीय पूर्वराजदूत डोल्पा पुगे

डोल्पा, चैत ३० । नेपालका लागि तीन भारतीय पूर्वराजदूत जिल्लाको प्राकृतिक तथा धार्मिक सौन्दर्यताको दृश्यावलोकनका लागि आएका छन् ।

नेपालका लागि पूर्वभारतीय राजदूतहरु रञ्जित राय, श्याम सुन्दरदेव मुखर्जी र श्याम शरण डोल्पाको भ्रमणमा यहाँ आएका हुन् ।

यहाँको प्राकृतिक सौन्दर्यता र जैविक विविधताले मन लोभ्याएपछि आफूहरु डोल्पाको सौन्दर्यतासँग रमाउन १५ दिने यात्रामा आएका पूर्वराजदूतहरुले बताएका छन् ।

प्रचुर प्राकृतिक सम्पदा, धार्मिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले डोल्पा घुम्न लालायित भएको पूर्वराजदूत रायले बताए ।

धार्मिक पर्यटकीय महत्व बोकेको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोटमा रहेको श्रीवालात्रिपुरासुन्दरी भगवतीको दर्शन गर्न पुगेका रायले यस अघि समेत डोल्पाको भ्रमण गरेका थिए ।

उनले प्रचार प्रसारको अभावमा डोल्पा ओझेलमा परेको बताए ।

डोल्पा शे फोक्सुन्डो, बालात्रिपुरासुन्दरी, जगदुल्ला ताल, धो ताक्सी उपत्यका, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, यार्सागुम्बा लगायतका कारण चर्चित छ ।

पर्यटक भित्र्याउन राष्ट्रिय सडक सञ्जालसँग डोल्पालाई जोड्न आवश्यक रहेको पूर्वभारतीय राजदुुतहरुले बताएका छन् ।

भारतीय राजदूतावासको रु तीन करोड ३३ लाख सहयोगमा त्रिपूरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटमा श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिर निर्माण गरिएको छ ।

तीनैजना राजदूत जुफाल, त्रिपुराकोट, दुनै, धो ताक्सी, शे फोक्सुन्डो ताल भएर जुफालहुँदै काठमाडौँ फर्कने कार्यक्रम रहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्