काठमाडौं, मंसिर ४ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पीनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
मंगलबार भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पीएसएल क्लब लाहोर कालान्दरले किनेको हो ।
सन्दीपले लाहोरबाट न्यूनतम् ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् ।
सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याट्सम्यान एबीडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् ।
आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा ६ क्लबले सहभागिता जनाउनेछन् ।
पीएसएलमा आबद्ध भएसँगै सन्दीप नवौं विदेशी लिगमा आबद्ध भएका छन् ।
सन्दीप अघिल्लो वर्ष पनि पीएसएलको ‘ड्राफ्ट’मा भएपनि उनलाई कुनैपनि टोलीले चासो देखाएका थिएनन् ।
अघिल्लो वर्ष आइपीएल, दिल्ली डेयरडेभिल्समा सनसनीपूर्ण ‘डेब्यु’ गर्दै तीन खेलमा ५ विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।
त्यस्तै, क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलकौशल प्रदर्शन गरेका सन्दीपले यसै साता सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा एक खेल खेलेका थिए ।
सन्दीप बंगलादेश र युएईको लिगमासमेत अबद्ध भइसकेका छन् । रासस








प्रतिक्रिया दिनुहोस्