२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्रीद्वारा हुम्लाको हिल्सा नाका अवलोकन, सिमकोटमा के भने ?


0
Shares

रारा पर्यटन महोत्सको उद्घाटनका लागि मुगुको राराताल आएका प्रधानमन्त्री ओली शनिबार हेलिकोप्टरमार्फत् हिल्सा पुगेका हुन् ।

राराबाट हेलिकोप्टरमार्फत् सीधै चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हिल्सा नाकाको अवलोकन गरेर उनी हुम्ला सदरमुकाम सिमकोट आएका थिए ।

सिमकोट विमानस्थलबाटै हुम्लाबासीलाई नयाँवर्षको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले हुम्लाको विकासका लागि आफू दृढ संकल्पका साथ लाग्ने बताए ।

हुम्ला जिल्ला हिजो पछाडि परेपनि अब अनुकरणीय जिल्लाकारुपमा आउने उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले हुम्लामा छिमेकी चीनसँग लिमीलाप्चा हुँदै बाटो जोडिएको भएपनि आफ्नै देशबाट सडक बाटो नजोडिएको हुँदा यसमा सरकारले ध्यान दिने उल्लेख गरे ।

हवाईमैदान विस्तार, खेलमैदान निर्माण, शिक्षा, स्वास्थ्य सबै पक्षको विकासका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

उनले आफू पनि भष्टचार नगर्ने अरुलाई पनि भष्टचार गर्न नदिने भन्दै सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको आधारमा अगाडि बढेको सुनाए ।

भौगोलिक विकटता, प्राकतिक सुन्दरता, जैविक विविधताले भरिपूर्ण हुम्लाको विकासका लागि सडक निर्माणकार्यलाई पहिलो प्रथामिकतामा राखेर अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भूगोल विकट भएपनि भूगोलको आ–आफ्नै महत्व हुने भएकाले हुम्ला जडीबुटीको खानी रहेको बताउँदै जडीबुटी संरक्षणतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।

हुम्ला विमानस्थलमा भएको स्वागत कार्यक्रममा जिल्लाका सडक, खेलमैदान, अस्पतालको स्तरोन्नतिलगायतको माग समेटिएको मागपत्र जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए ।

उक्त मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राखिएका माग प्रथामिकताका आधारमा सम्बोधन गर्न आफू लाग्ने आश्वासन पनि दिए ।

प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामालगायत टोलीमा रहेका थिए ।

करिब एक घन्टाको सिमकोट बसाइपछि प्रधानमन्त्री ओलीसहितको टोली पुनः रारा फर्केको छ ।