
प्रज्ञा तिमल्सिना/भरत केसी (इमेज)
काठमाडौं, मंसिर ४ । ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लामो समयसम्म घाँटी दुख्ने र घाँटीमा संक्रमण हुन थाल्यो भने चिकित्सककोमा जान ढिला गर्नुहुन्न ।
संक्रमण देखिएको केही दिनसम्म पनि ख्याल नगर्ने हो भने त्यसले मुटुको भल्बमा नै समस्या देखिन्छ ।
यदि, तपाइँको बालबालिकामा घाँटी दुख्ने, खानेकुरा निल्न गाह्रो हुने, लगातार ज्वरो आउने, शरीरका जोर्नीहरु सुन्निनेलगायतका समस्या देखिन थालेको छ भने विचार पुर्याउनुहोस् है !
‘स्ट्रप्टोकोक्कस’ भन्ने ब्याक्टेरियाका कारण बालबालिकाको मुटुको भल्बमा नै असर पर्नसक्छ । स्ट्रप्टोकोक्कस ब्याक्टेरियाविरुद्ध शरीरले ‘एन्टिबडी’ निकाल्छ ।
उक्त एन्टिबडीले मुटुको भल्बमा असर गर्न थाल्दा विभिन्न समस्या देखापर्छ भने श्वासप्रश्वास र रक्त सन्चालनमा पनि असर पर्छ ।
यो समस्यालाई मुटुको बाथरोग भनिने मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्मा बताउँछन् ।
सहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्र र अतिविपन्न वर्गका बालबालिकामा यो समस्या बढिरहेको डा. शर्माको भनाइ छ ।
ढिलो बच्चा जन्माउने, नजिकको नातेदारमा विवाह भइ जन्मने बच्चामा, मधुमेह रोग लागेको आमाबाट जन्मेका बच्चा, गर्भवती अवस्थामा जथाभावीरुपमा औषधि सेवन गर्ने आमाबाट जन्मेका बच्चाको मुटुको बनावटमा समस्या हुने, मुटुमा प्वाल पर्नेलगायतका समस्या भएका शिशु जन्मने संख्या बढेको डा. शर्माले बताए ।
सरकारले १५ वर्षमुनिका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।
गत वर्ष काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल तथा हृदयरोग केन्द्रबाट ८६९ बालबालिकाले मुटुको निःशुल्क उपचार गराएका छन् ।
निःशुल्क मुटुको उपचार गराएका बालबालिका र उनीहरुका अभिभावक उपचारपछि निकै खुसी भएको बताउँछन् ।
घाँटी दुख्दा या टन्सिल हुँदा स्वास्थ्यकर्मीको सल्लाहमा एन्टिबायोटिक औषधिको प्रयोग गर्ने र बालबालिकाको स्वास्थ्यप्रति गम्भीर भए मुटुको बाथरोगबाट बच्नसकिने हुँदा यसतर्फ सबै सचेत हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्