Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


लेखा समितिले सचिव र वायुसेवा निगमका पदाधिकारीलाई बोलायो


0
Shares

काठमाडौं, मंसिर ४ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका जहाज खरिद प्रकरणबारे सोधपुछ गर्न निगमका पदाधिकारीलाई समितिमा बोलाएको छ ।

मंगलबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले जहाज खरिदमा भएको भनिएको अनियमितताका विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगम कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई आगामी आइतबार बैठकमा बोलाउने निर्णय गरेको हो ।

नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिदमा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भइरहेको छ ।

यसबारे जानकारी लिन समितिले पर्यटन मन्त्रालयका सचिव र निगमका पदाधिकारीलाई समितिको बैठकमा बोलाएको हो ।

यस्तै, मंगलबार बसेको समितिको बैठकमा चिनीलगायतका अत्यावश्यक उपभोग्य वस्तुमा भएको मूल्यवृृद्धि र कालोबजारीको विषयमा समितिअन्र्तगत्को उपसमितिले प्रतिवेदन बुझाएको छ ।

चिनी तथा अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धि र कृत्रिम अभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समितिका सदस्य लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।

यस्तै, राष्ट्रपतिका लागि खरिद गर्न लागिएको १८ करोड रुपैयाँ मूल्यको गाडी प्रकरण, प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति कार्यालय विस्तार गर्न राष्ट्रपति कार्यालयले दिएको दबाब, समाजकल्याण परिषदको भवनमा उपराष्ट्रपति कार्यालय सार्ने र हायात होटको सेयर प्रकरणबारे पनि समितिले छलफल गर्ने भएको छ ।