सुर्खेत, मंसिर ४ । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा. डा. पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा. दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग गठनको स्वीकृति दिएको थियो ।
मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश योजना आयोगमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्यसचिव रहने व्यवस्था छ ।
रामपुर कृषि क्याम्पसका प्राध्यापक रेग्मीले कृषि विज्ञानमा विद्यावारिधि गरेका छन् ।
दैलेख, नारायण नगरपालिका–३ निवासी रेग्मीले यसअघि युवा स्वरोजगार कोषको उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका आर्थिक सल्लाहकारकरूपमा काम गरिसकेका छन् ।
हुम्ला, सर्केगाड गाउँपालिका निवासी डा. रोकायले राजनीतिशास्त्रमा विद्यावारिधि हासिल गरेका छन् । उनी लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
त्यस्तै, दैलेख, चामुन्डा विन्द्रासैनी नगरपालिका निवासी अर्का सदस्य शाहीले राष्ट्रिय युवा नीति कार्यदलको संयोजक र विश्व युवा परिषदको उपाध्यक्ष भएर काम गरिसकेका छन् । रासस








प्रतिक्रिया दिनुहोस्