२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पर्यटन प्रवद्र्धन गर्दै पर्सा निकुञ्ज, के-के छन योजना ?


0
Shares

वीरगन्ज, बैशाख ३ । सरकारले पर्सा आरक्षलाई निकुञ्ज घोषणा गरेको वर्ष दिन नपुग्दै निकुञ्ज व्यवस्थापन पर्यटक भित्र्याउने योजनामा जुटेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज पर्यावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउन लागेको हो ।

पर्सा, बारा र मकवानपुर जिल्लाको वन क्षेत्र समेटेर निकुञ्ज घोषणा भएपछि यो क्षेत्रमा पर्यावरण पर्यटनको प्रवद्र्धनलाई रणनीतिक योजनाअन्तर्गत अघि बढाइएको हो ।

पर्सा आरक्षलाई मन्त्रिपरिषद बैठकले गत बैशाख २५ गते राष्ट्रिय निकुञ्ज बनाउने निर्णय गरेको थियो ।

यो २ नम्बर प्रदेशकै लागि एकमात्र राष्ट्रिय निकुञ्ज भएकाले पर्यटकीय आकर्षणको थलो र आम्दानीको श्रोत बलियो बनाउनु पर्ने सरोकारवाला बताउँछन् ।

पर्यावरणीय पक्षको जगेर्ना गर्दै निकुञ्जलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् ।

जङ्गली हात्तीको मुख्य वासस्थानको रुपमा चिनिएको निकुञ्जमा पछिल्ला वर्षदेखि पाटेबाघ र गैडाको संख्या पनि बढ्दै गएको छ ।

निकुञ्जले प्रकाशित गरेको बार्षिक प्रतिवेदनमा पनि संरक्षित वन्यजन्तुको सूचीमा रहेको हात्तीको सङ्ख्या ६५ छ ।

सन् २०१३ को गणनामा ७ वटा रहेको बाघको संख्या आउँदो गणनामा ३ गुणाले वृद्धि हुने विश्वास निकुञ्जको छ ।

६ सय २७ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको पर्सा निकुञ्जमा १ सय ५ वटा भन्दा बढी गौरीगाई र ३ देखि ५ वटासम्म एक सिङ्गे गैंडा रहेको जनाइएको छ ।

निकुञ्ज घोषणा भएपछि पर्यटक आगमन पनि बढेको छ । गतवर्ष ३ सय पर्यटक आएकोमा चालु आर्थिक वर्षको ८ महिनामै ३ सय ७ पुगिसकेका छन् ।

३२ प्रजातिका स्तनधारी जनावर, ३ सय ७१ प्रजातिका चाराचुरुङ्गी, ३१ प्रजातिका पुतली र १० प्रजातिका सरीसृपले निकुञ्जका पर्यटकीय आकर्षण बढाएको छ ।