
नविन सिंह/ईमेज
जनकपुर । यही मंसिर २६ गते जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा अयोध्याबाट आउने जन्तीको नेतृत्व गरेर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् ।
विवाह महोत्सवमा भारतीय उच्च अधिकारी नै आउने निश्चित भएपछि महोत्सवलाई भव्य बनाउने गृहकार्य सुरु भएको छ ।
जनकपुरधाममा प्रत्येक वर्ष मनाइँदै आएको विवाह पञ्चमी महोत्सव यस वर्ष अन्य वर्षको तुलना भव्य बनाउने तयारी थालिएको छ ।
विवाह पञ्चमी महोत्सवका लागि मन्दिरको सरसफाई र रंगरोगन सुरु गरिएको छ ।
जन्तीको स्वागत र धनुष यज्ञलगायतका कार्यक्रमका लागि रंगूभूमि मैदानको समेत सरसफाई, माटो पुर्ने र भव्य स्वागत गेटको निर्माण कार्य जारी छ ।
रामजानकी विवाह महोत्सवमा जन्तीको नेतृत्व गरेर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अयोध्याबाट जनकपुर आउने भएका छन् ।
उनले जन्ती बनेर आउने निश्चित भएपछि महोत्सव भव्य बनाउने गृहकार्य सुरु भएको जानकी मन्दिरका सह–महन्थ रामरोशन दास वैष्णवले बताए ।
मुख्यमन्त्री योगीलाई विशेष स्वागतका साथै विवाह स्वयंवर र मिथिला परम्पराअनुसार आयोजना गरिने वैवाहिक कार्यक्रममा अतिथिको रुपमा सहभागी गराउने कार्यक्रम रहेको सह–महन्थ वैष्णवले जानकारी दिए ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री राजनाथ सिंह जन्ती बनेर आउने चर्चा चलेको थियो ।
तर प्रधानमन्त्री मोदी भने नआउने निश्चित भएको छ । गृहमन्त्री सिंहको भने टुंगो लागिसकेको छैन ।
मुख्यमन्त्री आदित्यनाथ भने जहाजबाट जनकपुर आउने टुँगो लागिसकेको प्रदेश २ सरकारले जनाएको छ ।
जनकपुरमा मुख्यमन्त्री आदित्यनाथको सुरक्षाका लागि ६ हजारसम्म सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
अयोध्याबाट आउने जन्तीलाई मधेस भवनमा र मुख्यमन्त्री आदित्यनाथलाई मुख्यमन्त्री लालबाबु राउतको निवासमा खाना खुवाउने तयारी भइरहेको छ ।
मुख्यमन्त्री आदित्यनाथले जयनगर–जनकपुर (कुर्था) रेलको उद्घाटन र जनकपुरधाम उपमहानगरपालिका–१४ मा निर्माण हुने भनिएको रामजानकी अन्तर्राष्ट्रिय स्टेडियमको शिलान्यास गर्ने भनिए पनि कार्यक्रम तय हुन सकेका छैन ।
मंसिर २६ गते मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम मंसिर २१ गतेबाट सुरु हुने छ ।
प्रतिक्रिया दिनुहोस्