Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण ठेक्का प्रक्रियामा रोक


0
Shares

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ ।

सिक्टा सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्पूर्ण टेन्डर प्रक्रियामा रोक लगाएको हो ।

कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको जनाएको छ ।

यस्तै पप्पुलाई ठेक्का प्रक्रियामा सहभागी गराउँदा विकासमा बाधा अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा उल्लेख छ ।

कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ ।

नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले गत कात्तिक २९ गते निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो ।