
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको हो ।
भारतको वृद्धिदर भने यो वर्ष ७.३ प्रतिशत र आगामी दुई वर्ष लगातार साढे ७ प्रतिशत पुग्ने उसको अनुमान छ ।
समग्रमा दक्षिण एसियाको यो वर्ष आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । अर्को वर्ष अझ ७.१ प्रतिशत पुग्ने जनाइएको छ ।
विश्व बैंकले समग्र यस क्षेत्रमा रोजगारी सिर्जना भने अझै कम रहेको भन्दै यसमा वृद्धि हुनुपर्नेमा जोड दिएको छ ।
नेपाल सरकारले चालू आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने संशोधित अनुमान गर्दै आएपनि विश्व बैंक र एडीबीले सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण गर्दै आएका हुन् ।
बजेट घोषणामा त ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा सरकारले हालै मध्यावधि समीक्षामार्फत् ६ प्रतिशतको संशोधित अनुमान गरेको हो ।
एडीबीले हालैमात्र यो वर्ष ४.९ प्रतिशतसम्म आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
विश्व बैंकले गत वर्ष ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको नेपालमा यो वर्ष र आगामी दुई वर्ष पनि वृद्धिदर खुम्चने अनुमान गरेको छ ।
नेपालको सन् २०१९ मा आर्थिक वृद्धिदर ४.५ र सन् २०२० मा ४.२ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ ।
तराईमा आएको बाढी, विप्रेषण आप्रवाहमा आउन थालेको सुस्तता, कर्जा व्याजदर वृद्धि नै आर्थिक वृद्धि खुम्चनुका प्रमुख कारण रहेको प्रतिवेदनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्