-विशाल नेम्बाङ र रविन भट्टराई(ईमेज):
झापा । आलुमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ झापाको कमल गाउँपालिकाका कृषक अग्र्यानिक आलुखेतीमा लागेका छन् ।
गाउँपालिकाका ६० भन्दा बढी कृषक समूहमा आबद्ध भएर आलुखेतीमा लागेका हुन् ।
पछिल्लो समय कृषिमा विषादीको प्रयोग अस्वाभाविक रुपमा बढिरहेको छ । मानव स्वास्थ्यलाई गम्भीर चुनौती दिने खालका विषादीहरुको प्रयोग तरकारी खेतीमा अझ बढी देखिन्छ ।
तर झापाको कमल गाउँपालिकाका कृषकहरु भने अग्र्र्यानिक तरिकाले आलु खेतितर्फ लागेका छन् ।
आइपीएम कृषि सहकारीमा आबद्ध गाउँपालिकाका ६० जना भन्दा बढी कृषकले अहिले तीन वटा समूह बनाएर सामुहिक आलु खेती गरिरहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट क्षेत्रको रुपमा घोषणा भएको गाउँपालिकालाई आलु सुपरजोन बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउँछन् ।
गत वर्ष ११ सय मन आलु उत्पादन भएकोमा यस वर्ष ६ हजार ५ सय मन आलु उत्पादन गर्ने लक्ष्य रहेको छ । खेतीका लागि चाहिने प्रांगारिक मल सहकारी आफैंले उत्पादन गरिरहेको छ ।
त्यस्तै कृषि औजार, मलखाद, जैविक कीटनाशक औषधि पनि सहकारी संस्थाले सदस्यलाई उपलब्ध गराएको छ ।
अर्कोतिर कारितास नेपाल नामक संस्थाले समूह गठन गरी किसानलाई आलु खेतीका लागि प्रोत्साहित गरिरहेको कारितास नेपालका कार्यक्रम अधिकृत देवेन्द्र पौडलको भनाइ छ ।
गाउँपालिकाले प्रांगारिक मल उत्पादन गर्न गत वर्ष ५ लाख र यस वर्ष १० बजेट बिनियोजन गरेको छ भने कृषि क्षेत्रको विकासका लागि २ करोड बजेट छुट्याएको छ ।
कृषकले खेतमा डेजीरे, कार्डिनल, खुमल, खुमल रातो जातका आलु तीन महिनामै फल्ने भएकोले यिनै आलु लगाउने गर्छन् ।









प्रतिक्रिया दिनुहोस्