एक दशकदेखि बन्द देवल विमानस्थल खुलाउन सरकारको उदासिनता • Image Khabar Image Khabar


एक दशकदेखि बन्द देवल विमानस्थल खुलाउन सरकारको उदासिनता


Imagekhabar
४ बैशाख २०७५, मंगलवार ११:५१

एक दशकदेखि बन्द देवल विमानस्थल खुलाउन सरकारको उदासिनता

बन्द भएको विमानस्थल सञ्चालन होला र अत्यावश्यक काम पर्दा जहाजबाटै आउजाउ गरौँला भन्ने बझाङबासीको सपना दश वर्षसम्म पनि जस्ताको तस्तै छ । विमानस्थल सुचारु नहुँदा खेलमैदान र गौचरनमा परिणत भएको छ भने अतिक्रमणसमेत बढ्दै गएको छ ।

२०३५ सालमा नेपाल वायु सेवा निगम (तत्कालिन शाही नेपाल वायु सेवा निगम)ले बझाङको देवल विमानस्थलबाट उडान सुरु गरेको थियो । हप्ताको दुई दिन नेपालगञ्ज–बझाङ, र बझाङ–धनगढी उडान सुरु गरेको थियो । पछि तारा, मकालु, सांग्रिलाजस्ता निजी एयरलाइन्सले पनि हप्तामा दुई–तीन पटक उडान भर्न सुरु गरेका थिए । तर सरकारी पक्षको बेवास्ताका कारण असुरक्षित भएको भन्दै सरकारी नीजि विमान कम्पनीहरुले उडान बन्द गरे । त्यति बेलादेखि बन्द भएको विमानस्थल दश वर्षसम्म पनि सुचारु हुन सकेको छैन ।

विमान सेवा बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई समेत अन्यत्रै सरुवा गरिएको छ । विगत २८ वर्ष देखि विमानस्थलको कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका खडक नेपालीले भने, ‘यहाँबाट गएका विमानस्थलका अधिकारी फर्कने छाँट छैन । एक्लैले विमान स्थलको संरक्षण गरिरहेको छु ।’

विमानस्थल सुचारु नहुँदा बझाङवासीले सास्ती खेप्नु परेको छ । विमान आउन छाडेदेखि विमानस्थलका भवन पनि जिर्ण बनेका छन् भने स्थानियवासीले उक्त मैदानलाई खेलमैदान बनाउनुका साथै गौचरणका रुपमा परिणत गरेका छन् । एकमात्र हवाइ सेवा बन्द भएपछि स्थानीय बासिन्दाले बिरामी परेर आकस्मिक रुपमा अन्यन्त्र जानु परेमा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको स्थानीय तथा उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए ।

बर्षातको समयमा जिल्लाका विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने र धनगढी पुग्न पनि २ दिन लाग्ने गरेको छ । उनले भने, ‘कुनै घटनामा परेका घाईते र सुत्केरीहरुलाई उपचार गर्न धनगढी वा नेपालगञ्ज पु¥याउनु पर्दा समयमै उपचार नपाएर बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।’

२०६५ सालमा सडकले बझाङ सदरमुकाम चैनपुर छोएसँगै विमानस्थल बन्द हुनु संयोगमात्र भएको यहाँका नागरिकहरुको भनाइ छ ।

स्थानीय जनतिनिधिले पनि विमानस्थल संचालनमा चासो नदेखिएको स्थानीयहरुको गुनासो छ । मन्त्रालय मातहतका निकायमा विमानस्थल सञ्चालनका लागि बझाङका सांसद र सरोकारवाला धाउँदा चीनबाट नयाँ जहाज ल्याएपछि उडान सुचारु गर्ने आश्वासनमात्र मिल्दै आएको बझाङका जनतिनिधिहरुको भनाइ छ ।

बझाड हुँदै तिब्बतको मानासरोवर र साईपाल हिमाल जाने छोटो रुट हुने हुदाँ यस विमानस्थललाई सरकारले छिटो संचालनमा ल्याउनुपर्ने पर्यटन पत्रकार समुहका रमेश केसीको भनाइ छ ।

राजनीतिक दलका नेता कार्यकर्तादेखि बझाङ भित्रिने जो कसैले पनि विमानस्थल सुचारु गर्ने आश्वासन दिए पनि पूरा नगर्ने परिपाटीका कारण जिल्लाबासी असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्