डडेल्धुरा, मंसिर ३ । प्रदेश नम्बर–७ को पहाडी जिल्ला डडेल्धुरामा जीवनबिमा कम्पनी कार्यालयहरु धमाधम खुल्नेक्रम बढ्दै गइरहेको छ ।
दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु खुलिरहेको डडेल्धुरामा मानिसको जीवन सुरक्षा र अत्यावश्यक समयका लागि आकस्मिक बचत तथा जोखिम प्रतिस्थापनकारुपमा लिइएको बिमा गराउन हरेक कम्पनीहरुको होडबाजी नै चलेको छ ।
सुदूरपश्चिमको केन्द्र मानिने डडेल्धुरा सदरमुकामको मुख्य बजारदेखि दुई किलोमिटरसम्म फैलिएको बजारमा जताततै बिमा कम्पनीका बोर्डहरु राखिएका छन् भने कम्पनीहरु विभिन्न आकर्षक योजनासहित सर्वसाधारणलाई बिमा गराउन सक्रिय रहेका छन् ।
डडेल्धुरामा रिलायबल नेपाल, नेपाल इन्स्योरेन्स, ज्योति लाइफ, शिखर लाइफ, सानिमा लाइफ, नेपाल लाइफ कम्पनीहरु सक्रिय रहेका छन् ।
यसैगरी, एनएलजी, नेसनल लाइफ, एलआइसी नेपाल, सूर्या लाइफ, सिटिजन लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ, सन नेपाल, प्रुडेन्सियल लाइफ, प्राइम लाइफ र प्रभुलगायत दुई दर्जनजति बिमा कम्पनीका शाखाहरु सन्चालन भइसकेका छन् भने केही इन्स्योरेन्स कम्पनी छिट्टै खुल्ने तयारीमा रहेका छन् ।
आर्थिक गतिविधिसँगै जनताको आयस्तर वृद्धि भएको अनुमान गर्दै दीर्घकालीन बचत, जोखिम परिपूर्ति तथा लगानी वृद्धिलगायतका लाभहरु उपलब्ध गराउने सम्झौतासहित बचत सुनिश्चित गर्न कम्पनीहरुले विभिन्न विशेषताका साथ आवधिक, सावधिक र आजीवन बिमालेख बनाउने गरेका छन ।
पछिल्लो पाँच वर्षयता ह्वात्तै खुलेका बिमा कम्पनीहरुबाट डडेल्धुरा जिल्लामा कतिजनाको जीवनबिमा गरियो भन्ने तथ्यांक नभएपनि बिमा योजनातर्फ आय–आर्जन भएका सर्वसाधारण भने आकर्षित भएका छन् ।
जीवनबिमाबाहेक निर्जीवन बिमा, कृषि बिमा र उद्योग–व्यवसाय तथा यातायात क्षेत्रमा पनि जोखिम विषयवस्तुको मूल्यांकनसहित विभिन्न कम्पनीहरुले व्यक्तिगत, समूहगत र फर्म दर्ताका आधारमा बिमा गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्