
कक्षा १० पुरा नगरि आफ्ना अभिभावकसँग भारतमा चौकीदारी गर्ने जाने हुँदा १६ वर्ष मुनीका दलित बालबालिकाले विद्यालय छोडेका थुप्रै उदाहरण भेटिएका छन् ।
बीचैमा स्कुल छोड्ने समुदायका विद्यार्थीका अभिभावकसँग शिक्षाको महत्व बुझाउन जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको एक टोलीले जिल्लाका विभिन्न बस्तीमा घरदैलो कार्यक्रम गरेको छ ।
प्रत्येक गाउँबस्तीमा विद्यालय स्थापना भए पनि विद्यालयमा भर्ना भएका सबै बालबालिकाले माध्यमिक तह पुरा नगरी बीचैमा स्कुल छोड्ने दर दलित समुदायमा बढ्दो भएकाले विद्यार्थीहरुको निरन्तर पढाई र शिक्षाको महत्व बुझाउन जिल्ला शिक्षा कार्यालयसँगै स्थानीय जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका प्रतिनिधिहरु अभिभावकसँग अन्तरक्रिया गर्न घरदैलो पुगेका हुन् । बीचमै स्कुल छोड्ने बालबालिकाहरुको दर निकै बढी रहेको जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष जगदिश रोकायाले बताए ।
बीचैमा विद्यालय छोड्ने बालबालिकाहरुको संख्या दलित समुदायमा बढ्दै गएको उनको भनाइ छ ।
बीच मै स्कुल छाडेका बालबालिका अभिभावकलाई सरकारले पढ्नका लागि दिएको सेवा सुविधा, शिक्षा आर्जनको महत्व बुझाई विद्यार्थीहरुको निरन्तर पढाईमा जोड दिन दलित बस्तीमा अन्तरक्रिया गरेको जिल्ला शिक्षा कार्यलयका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।
केदारस्युँ गाउँपालिकाको सेकुगाउँमा मात्रै १६ वर्ष मुनिका २० जनाले बीचमै स्कुल छोडेका भेटिएको बताइएको छ । यसैगरी झोताको दलितबस्ती कुच, थलारा पिखेत, खानी गाउँ, बगडगाउँ, गुमै गाउँमा रहेको दलित बस्तीमा पनि १६ वर्ष मुनीका स्कुल पढ्ने उमेरका ५५ बालबालिकाले बीचमै स्कुल छोडेको पाइएको छ ।
जयपृथ्वी नगरपालिकाको देवलमामात्रै दलित समुदायका ९ जनाले बीचमै स्कुल छोडेको पाईएको छ ।
यस्तै उच्च माध्यामिक तहको विद्यालय नजिकै दलित बस्ती रहेको बगडगाउँमा पनि यसपालीमात्र ४ जना बालबालिका कक्षा ६ को परीक्षा नदिई भारत हिँडेका छन् । चैनपुरका बादी बस्तीमा हालसम्म एकजना पनि कक्षा १० सम्म पुगेका छैनन् ।
नमुना निमाविका प्रधानाध्यापक गजेन्द्र रसाईलीले भने, ‘दलितहरुले शिक्षा आर्जनको महत्व नबुझेको हुँदा झन गरिब हुँदै छन् ।’
बीचमै विद्यालय छोड्ने कारणले दलितहरुमा सामाजिक, आर्थिक रुपमा पनि विकास नभएको जनप्रिय उमावि बगडगाउँका प्रधानाध्यापक पदमबहादुर खड्काको भनाइ छ । जिल्लाका ४० भन्दा बढी दलित बस्ती तथा टोलमा बीचैमा स्कुल छोड्ने बालबालिकाका अभिभावकसँग छलफल गरिदैं छ ।
दलित अभिभावकहरुले विद्यालयमा पढाई कमजोर भएकाले पढ्न नसकेर दलित बालबालिका बीचैमा स्कुल छोड्न थालेको बताउँछन् ।
जिल्लामा हाल चार सयभन्दा बढी विद्यालय छन् ।
दलित परिवारको बाध्यता
जयपृथ्वी नगरपालिका–९ देबलकी जोग्यानी नेपालीका ७ वटा सन्तान छन् । उनका १७ वर्षीय जेठा छोरा विनोद नेपालीले ५ कक्षासम्म अध्ययन गरे । बीच मै स्कुल छोडेर उनी १४ वर्षकै उमेरमा रोजगारी गर्न भारत गए ।
जोग्यानीका अर्का छोरा विमल नेपाली १४ बर्षका भए । उनी पनि अहिले भारत मै रोजगारी गरिरहेका छन् । उनी कक्षा ४ सम्म नजिकैको जालपा उमावि देबलमा पढ्दै थिए ।
जोग्यानीका दुई सन्तान भर्खर स्कुल जाने उमेरका भए तर स्कुल भर्ना गरिएको छैन । अब उनीहरुको भर्ना गर्ने जोग्यानीको भनाइ छ ।
उनका अनुसार आफ्ना छोराछोरीले स्कुल छोड्नुका कारण आर्थिक समस्या नै मुख्य हो । ‘छोराहरु स्कुल पढ्दा कहिले कापी, कहिले कलम, कहिले झोला, कहिले लुगा, जुत्ता, चप्पल माग्छन्,’ उनले भनिन्, ‘उनीहरुले भनेको समयमा किनिदिन हामी सक्दैनौं ।’
एक छाक खानका लागि विहानदेखि बेलुकासम्म मजदुरी गर्नु पर्ने अवस्थामा छोराहरुले भनेको समयमा मागेको कुरा किनिदिन नसकेपछि सानै उमेरमा रोजगारीका लागि भारत पठाएको उनको भनाइ छ । ‘स्कुल रहरले होइन, मेरा छोराहरुले बाध्यताले छोडेका हुन्,’ उनले भनिन् ।
यस्तै, बाटु सार्कीका १२ वर्षीय छोरा रुपेश छोरी सुनिताले पनि बीचैमा स्कुल छाडे । दुवै अहिले घरमै छन् । खर्च अभावका कारण पढाउन नसकेपछि आफ्ना छोराछोरीले स्कुल छोड्नु परेको बाटु सार्कीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्