Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


गन्डकी प्रदेशमा १२ वर्षभित्र गरिबी अन्त्य गरिन्छ : मुख्यमन्त्री गुरुङ


0
Shares

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, मंसिर ३ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको १२ वर्षभित्रमा गन्डकी प्रदेशमा गरिबीको अन्त्य गरिने बताएका छन् ।

सोमबार लमजुङको खुदीमा प्रथम मर्स्याङ्दी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सन् २०३० सम्ममा प्रदेशमा गरिबी अन्त्य गरिने बताएका हुन् ।

प्रदेशमा भोकमरी तथा गरिबीको अन्त्य गर्नेगरी अहिलेदेखि नै उत्पादनमुखी कार्यक्रममा जोड दिइएको उनले उल्लेख गरे ।

चालू आर्थिक वर्षमा लमजुङमा ३०० होमस्टे प्रवर्धन गर्नेगरी कार्यक्रम सन्चालन गरिने उनको भनाइ छ ।

होमस्टे प्रवर्धनका लागि ३० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले सुनाए ।

‘गन्डकी प्रदेशको सिरुबारीबाट नेपालमै पहिलो होमस्टे सुरु भएको हो । लमजुङको घलेगाउँ होमस्टेले संसारलाई चिनायो’–मुख्यमन्त्री गुरुङले भने–‘यही गौरव र पहिचानलाई लिएर होमस्टेको विकास गर्ने तरखरमा छौं । होमस्टेबाट आय–आर्जन बढाउन प्रयत्नरत् छौं ।’

प्रदेशभित्र आधुनिकीकरण र यन्त्रीकरण गरी व्यावसायिक तरकारी, फलफूल तथा खाद्यान्न उत्पादनमा जोड दिइने उनले बताए ।

प्रदेशभरि ४०० मोडल फर्मको प्रवर्धन तथा सुरुआत गर्नका लागि चालू आवमा ४० करोड रुपैयाँ छुट्टाइएको उनले जानकारी दिए ।

जलवायु परिवर्तनअनुकूलन कृषिखेतीका लागि प्रत्येक गाउँमा ‘मुख्यमन्त्री कृषि परियोजना’ सन्चालन गरिने भन्दै उनले प्रदेशका प्रत्येक घरमा क्रमशः विद्युत्, खानेपानीलगायतका सुविधा पुर्‍याइने बताए ।

उनले स्थानीय उत्पादनको बिक्री तथा बजारीकरणमा सहयोग पुगेमात्र मेला, महोत्सवले सार्थकता पाउने धारणा राखे ।

जनताले देश विकासका लागि कम्युनिस्टलाई ‘अख्तियारी’ दिएकाले प्रतिपक्षी वा अरु कसैलाई दोष दिएर उम्कन नमिल्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

भीरमौरीको शिकार हेर्न पाइने

महोत्सव चार दिनसम्म चल्नेछ ।

‘महोत्सवमा आउने पाहुनालाई दिनभर मेला हेरेर राति होमस्टेमा पुर्‍याउने योजना बनाएका छौं’–महोत्सव मूल आयोजक समितिका संयोजक अर्जुन गुरुङले भने–‘गाउँपालिकाभित्र रहेका रकगार्डेन, सिउरुङ, भुष्मे, ढंगै, मिप्रा, छापा, भलामचौर, नायुँलगायतका होमस्टे तयार गरिएको छ ।’

होमस्टे जाने पर्यटकलाई होमस्टे गाउँहरुले आवश्यक तयारीका साथ लैजाने व्यवस्था गरेको उनले जानकारी दिए ।

महोत्सवमा छङ्गाछुर भीरमा हुने कहालीलाग्दो भीरमौरीको शिकार पनि हेर्न पाइनेछ । मंसिर ४ गते घनपोखराको भीरमा भीरमह शिकारको आयोजना गरिएको छ ।

डरलाग्दा पहारामा डोरीमा झुन्डिएर गरिने महशिकार हेर्न निकै रोमान्चक हुनेगर्छ । महोत्सवमा आउने पर्यटकलाई महशिकार हेर्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

महोत्सवमा धार्मिक मेलासहित कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी, स्थानीय कला, संस्कृतिको प्रदर्शन, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानका भ्रमण, आर्गानिक खाना, मनोरन्जनात्मक कार्यक्रम, भलिबल, छेलोसहितको खेलकुद प्रतियोगिता, मिनि म्याराथन दौड, माविस्तरीय नृत्य प्रदर्शनी, वडास्तरीय दोहोरीगीत प्रतियोगिता राखिएको सहसंयोजक होमबहादुर विकले बताए ।

महोत्सवमा ३० ओटा स्टल राखिएका छन् । २० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।