Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


लिटिल फ्लावर र लिटिल बुद्ध उपाधिका लागि भिड्ने


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, मंसिर ३ । लिटिल फ्लावर स्कुल र लिटिल बुद्ध एकेडेमी धनगढीमा जारी तेस्रो निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् ।

सोमबार भएका सेमिफाइनल खेलमा विजयी हुँदै दुवै टिम फाइनलमा पुगेका हुन् ।

लिटिल फ्लावर धनगढीले साविक विजेता सिद्धार्थ शिशु सदन धनगढीलाई ५ विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।

यस्तै, लिटिल बुद्ध कन्चनपुरले हिमालयन ह्वाइटहाउस काठमाडौंलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सिद्धार्थले जितका लागि दिएको १०३ रनको लक्ष्य लिटिल फ्लावरले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लिटिल फ्लावरको जितमा सुरज तिरुवाले अविजित ५१ रन बनाए । सैलेश अवस्थीले २० रनको योगदान गरे ।

३६ रनमै ५ विकेट गुमाएको लिटिल फ्लावरका लागि यी दुवै खेलाडीले ६७ रनको महत्वपूर्ण साझेदारी गरी आफ्नो टिमलाई उपाधि होडमा पुर्‍याए ।

बलिङतर्फ सिद्धार्थका कप्तान सैलेश जिसीले ३, गजेन्द्र बोहरा र सविन महराले समान १/१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिद्धार्थले पूरा २० ओभर खेल्दै ८ विकेटको नोक्सानीमा १०२ रन बनाएको थियो ।

सिद्धार्थका लागि गजेन्द्र बोहराले सर्वाधिक ३९, खडक बोहराले २२, सुबिन महराले १३ र सुरेन्द्र साउदले १२ रन जोडे । अरुको प्रदर्शन फितलो रह्यो ।

फेरिपनि उपाधि होडमा पुग्ने सिद्धार्थको सपना चकनाचुर पार्नेक्रममा लिटिल फ्लावरका शेर मल्लले ४ विकेट लिए । सुरज तिरुवाले २, विक्रम ठगुन्ना र सागर भण्डारीले समान १/१ झारे ।

सोमबारै भएको दोस्रो सेमिफाइनल खेलमा हिमालयन ह्वाइटहाउसलाई लिटिल बुद्धले १३ ले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्धले १९.१ ओभरमा आफ्ना सबै विकेट गुमाएर १५० रन बनाएको थियो ।

लिटिल बुद्धका लागि नारायण जोशीले सर्वाधिक ५९, हेमन्त कार्कीले ३९, हेमन्त धामीले १४ र सुशील खड्काले १२ रन बनाए ।

बलिङतर्फ हिमालयन ह्वाइट्सका अंकित सुवेदी र सुशान्त सिंहले समान ३/३, फिद्रोस अन्सारी, अमृत सिंह र रमेश भट्टले समान १/१ विकेट लिए ।

जवाफमा हिमालयन ह्वाइटहाउसले पूरा २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो ।

उसका लागि अंकित सुवेदीले २७, सञ्जय श्रेष्ठले २१, अमृत सिंहले १९ रन बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

बलिङतर्फ लिटिल बुद्धका रोचक ऐरले सर्वाधिक ३, विवेक यादवले २, नारायण जोशी र हेमन्त जोशीले समान १/१ विकेट हात पारे ।

उपाधि भिडन्त मंगलबार हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।

विद्यालयस्तरको प्रतियोगितामा १२ टिम सहभागी थिए ।