६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


जसले पाइन् नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र…


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, मंसिर ३ । सरकारले सोमबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।

८ वर्षको गृहकार्यपछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण थालेको गरेको हो ।

पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाले फिदिम नगरपालिका–४, शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेर कार्यको शुभारम्भ गरे ।

गृहमन्त्री थापाले यो राष्ट्रिय परिचयपत्र वितरण प्रणालीले नेपालीको समृद्धिको यात्रासमेत सुरुआत भएको बताए ।

वयोवृद्धा भण्डारीबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनकार्यको थालनी भएको थियो ।

राष्ट्रिय परिचयपत्र वितरणको कार्यलाई राष्ट्रिय उत्सवकारुपमा मनाउन प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई, प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव प्रेमकुमार राईलगायतका विशिष्ट व्यक्तित्वहरुसमेतको उपस्थिति रहेको थियो ।

पाँचथरमा सोमबारमात्र ५० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

राष्ट्रिय परिचयपत्र पाएपछि स्थानीयसमेत निकै उत्साहित देखिन्थे ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सरकारले ‘चिप’ प्रविधिमा आधारित बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण गरेको हो ।

देशका ७७ ओटै जिल्लामा यसै वर्षबाट परिचयपत्र वितरणको काम सुरु गरिने बताइएको छ ।

यसै आर्थिक वर्षमा प्रदेश नम्बर–१ का झापा र संखुवासभा, प्रदेश–२ का महोत्तरी र सप्तरी, प्रदेश–३ का ललितपुर, रसुवा र चितवन, गन्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश–५ का कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कन्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको थालनी गर्ने कार्यक्रम रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ ।

एक लाख १७ हजार परिचयपत्र छाप्न एडीबीले करिब ५५ करोड रुपैयाँ अनुदान दिनेछ । यसबाहेक सबै परिचयपत्र सरकारकै बजेटमा छापिनेछ ।

२०६६/६७ मा सरकारको नीति तथा कार्यक्रममै राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना समेटिएको थियो ।

२०६७ सालमा गृह मन्त्रालयअन्तर्गत् राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो ।

तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाईमात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ । पछि सबै नागरिकलाई वितरण गर्ने योजना सरकारको छ ।