
काठमाडौं, मंसिर ३ । राष्ट्रिय गौरवको आयोजनाकारूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कार्यप्रगतिकाबारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले चासो व्यक्त गरेका छन् ।
आयोजनाको कुल भौतिक प्रगति ९७ प्रतिशत भएपनि विद्युत् उत्पादन हुने समय पर धकेलिएको र लागतसमेत बढ्दै गएका कारण मन्त्री पुनले चासो व्यक्त गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
आयोजनाको काम पछिल्ला दिनमा प्रभावकारी नभएको भन्दै मन्त्री पुनले समस्या समाधान गरी छिटोभन्दा छिटो विद्युत् उत्पादन सुरु हुने वातावरण तयार पार्नसमेत नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठलाई निर्देशन दिए ।
सुरुमा आयोजनाको लागत रु ३५ अर्ब रहेको भएपनि पछिल्लो दिनमा निर्माण सामग्रीको मूल्य बढेको, अमेरिकी डलरमा भएको मूल्यवृद्धिका कारण लागत बढेर रु ७० अर्बको हाराहारीमा पुग्ने अवस्था देखिएको छ । त्यसमा लागत अवधिको ब्याजसमेत जोडिएको छ ।
आयोजनाको भौतिक निर्माणको काम करिब–करिब सकिने अवस्थामा पुगेको भएपनि केही निर्माण व्यवसायीले समयमा काम नगरिदँदा विद्युत् उत्पादन मिति नै पर सर्न पुगेको छ । सुरुङभित्र जडान गर्नुपर्ने ठूला पाइप आयातमा समस्या देखिएको छ ।
लामोसाँघु–जिरी सडकखन्ड मर्मतमा ढिलाइ हुँदा निर्माण सामग्री आयातमा ढिलाइ भएको भन्दै पछिल्ला दिनमा आयोजनाको सुरुङमा जडान हुने पाइप आयोजनास्थल पुग्न सकेको छैन ।
आयोजनाको सुरुङभित्र रहेका दुईओटा ठाडो सुरुङ (३७० मिटर र ३१० मिटर)मा पाइप जडान गर्ने काम पूर्ण हुन सकेको छैन ।
आयोजनाले आगामी असारमा परीक्षण उत्पादन सुरु गर्ने र आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
विगतमा आगामी पुस मसान्तदेखि नै परीक्षण उत्पादन सुरु गर्ने कार्यतालिका तय गरिएको थियो ।
मन्त्री पुनले आयोजनामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र आयोजनास्थलमा नै समस्या समाधान गर्ने तयारी गरेका छन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललाई मिलाएर काम गराउने तयारीमा आफूहरु लागेको जानकारी दिए ।
हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय ठेकेदार कम्पनी टेलम्याको रहेको छ भने इलेक्ट्रोमेकानिकलको जिम्मा एन्ड्रिज हाइड्रोको रहेको छ ।
सुरुङभित्र जडान गर्नुपर्ने ५९ ओटा पाइप प्राधिकरणको सुनकोसी विद्युत्गृहमा रहेको छ ।
‘आयोजनालाई गति दिने र तोकिएको समयमा नै सम्पन्न गराउने तवरले मन्त्रीज्यूले चासो दिनुभएको हो । त्यसलाई सहजरूपमा लिँदै आयोजनास्थलमा देखिएको समस्या समाधानका लागि हामी प्रतिबद्ध भएर लागेका छौं’–प्रवक्ता डा. न्यौपानेले भने । रासस
प्रतिक्रिया दिनुहोस्