६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


बझाङका स्थानीय तहका जनप्रतिनिधिले अपेक्षित काम गर्न सकेनन्


0
Shares

डीबी विष्ट/ईमेज:

बझाङ । बझाङमा स्थानीय तहले अपेक्षित काम गर्न नसकेको गुनासो सर्वसाधारणले गर्न थालेका छन् ।

गाउँगाउँमा विकासका लहर आउने आशामा हौसिएका बझाङवासीमा त्यसको अनुभूति नभएपछि निराशा देखिएको हो ।

अर्कोतिर स्थानीय तहमा आर्थिक अनियमितता बढेको र बजेटअनुसार विकास निर्माणका काम नभएको स्थानीयको भनाइ छ ।

देशका हरेक टोलटोल र गाउँगाउँमा स्थानीय सरकारहरु खडा भएका छन् ।

तर विकास  निर्माण र सेवा सुविधाको स्थिति परिवर्तन नहुँदा बझाङका अधिकांश ठाउँका स्थानीयवासीमा आक्रोश चढ्दै गएको छ ।

सीमित स्रोत र साधनका कारण अपेक्षा गरिएअनुसार काम गर्न नसक्नु स्वाभाविक भएपनि गर्न मिल्ने र गर्न सकिने खालका कैयौँ काम नभएपछि जनतामा असन्तुष्टि देखिएको हो ।

गाउँ वस्तीमा विकास र परिवर्तन  हुनुको साटो जनप्रतिनिधि र तिनका आसेपासेले त्यसबाट लाभ लिइरहेको धेरैको गुनासो देखिन्छ ।

स्थानीय तह स्थापित भएपछि कामहरु सन्तोषजनक नदेखिएको र आर्थिक अनियमितता बढ्दै गएको मष्टा गाउँपालिकाका समाजसेवी ज्ञान बहादुर बोहोराको ठहर छ ।

विकास निर्माणका लागि छुट्टाइएको रकम हिनामिना र अनिमित हुने भएकोले काम प्रभावकारी हुन नसकेको छविसपाथीभेरा गाउँपालिकाका महिलाहरु बताउँछन् ।

यद्यपी, सबै ठाउँका जनप्रतिनिधि उस्तै भने छैनन् ।

कतिपय जनप्रतिनिधिले इमान्दार बनेर गम्भीरताका साथ काम गरेपनि त्यसको परिणाम तत्काल नदेखिएको भने साँचो हो तर धेरै ठाउँमा स्पष्ट नीति योजना र इमान्दारिताको भने कमी नै देखिन्छ ।

स्थानीय सरकार आएपछि नयाँ संरचना र कर्मचारी अभाव लगायतका कारणले जनताको आकांक्षा र आवश्यकताअनुरुप काम नभएको जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र खड्काको स्वीकारोक्ति छ ।