राजविराज विमानस्थल तयार, अब नियमित उडान संचालन हुने (भिडियो) • Image Khabar Image Khabar


राजविराज विमानस्थल तयार, अब नियमित उडान संचालन हुने (भिडियो)


Imagekhabar
९ बैशाख २०७५, आईतवार १७:४९

राजविराज विमानस्थल तयार, अब नियमित उडान संचालन हुने (भिडियो)

शिवहरी भट्टराई/
राजविराज, वैशाख ९ । सप्तरीको राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने तयारीमा छ ।

धावन मार्ग कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक खुल्दै र बन्द हुदै आएको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ ।

झण्डै १६ महिनापछि विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भई कम्पाउण्ड घेर्ने, कार्यालय मर्मत, रङरोगनका कामसमेत अन्तिम चरणमा पुगेको हो । यी काम सकिएलगत्तै नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन गरेपछि वैशाख मसान्तसम्ममा टेस्ट उडान गर्ने तयारी भइरहेको प्राधिकरणका प्रोजेक्ट इन्जिनियर राम एकवाल महतोले जानकारी दिए ।

विमान सेवा पुनः सुरु हुने खबरले स्थानीय र व्यवसायी पनि उत्साहित भएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधान बताउँछन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमानस्थलको ‘रन वे’ निर्माण गर्ने काम पाएको थियो । विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्गको कालोपत्रेका लागि ३० करोड ३० लाख ७४ हजार रुपैयाँ सम्झौता गरिएको थियो ।

सम्झौता भए बमोजिम २०७४ साल मंसिर मसान्तमै काम सकाइनुपर्नेमा ठेकेदारले चार महिना ढिलो काम सकाएको हो ।

तत्कालीन जिल्ला विकास समिति सप्तरीको कार्यालयमार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्र घेराउ गर्ने कामसमेत सम्पन्न भइसकेको छ । विमानस्थलमा रहेको विभिन्न साना–तिना पानी निकासीका लागि कल्भर्ट, मूल ढोका अगाडि कालोपत्रे, रङरोगन तथा मर्मतका कामसमेत अन्तिम चरणमा पुगेको छ ।

राजविराज नगरपालिकाबाट चार किलोमिटर दक्षिणमा पर्ने विष्णुपुर गाउँपालिकामा अवस्थित ५५ विगाहा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावन मार्गकै कारण वर्षा याममा पटक–पटक बन्द हुँदै आएको थियो ।

विसं २०१६ मा तत्कालीन मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको विमानस्थलमा २०५२ साल वैशाखबाट विमान उडान सेवा रोकिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले २१ वर्षमा पटक–पटक विमान सेवा संचालन र रद्द हुँदै आएको छ ।

अन्तिम पटक विसं २०६५ सालमा परीक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो । उक्त एयरले पनि यात्रुको अभाव देखाउँदै विमान सेवा बन्द गरेपछि राजविराज विमानस्थलको धवनमार्ग गौचरनमा सीमित भएको थियो ।

अब भने बिगतको जस्तो नियति नदोहोरिनेमा स्थानीय आशावादी छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्