१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सय दिने कार्ययोजना सार्वजनिक


0
Shares

                                                तस्वीर : रासस

काठमाडौं, वैशाख ९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ ।

मन्त्रालयले पत्रकार सम्मेलन गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसात गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार गर्न उक्त मस्यौदालाई अन्तिम रुप दिनेलगायतका सय दिने कार्ययोजना सार्वजनिक गरेको हो ।

दूरसञ्चार क्षेत्रको फ्रिक्वेन्सी वितरण प्रक्रियालाई व्यवस्थित बनाउन फ्रिक्वेन्सी नियमावली मस्यौदा तयार गरिने भएको छ । त्यसैगरी साना बचतकर्तालाई बैंकिङ पहुँचमा पु¥याउन हुलाक बैंकको रुपमा विकास गर्न अध्ययन गरिने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाकबाट पठाएको वस्तुको ग्राहक स्वयंले समेत अनुगमन गर्नसक्ने पोस्टल ट्रेकिङ इन्टरनल सिस्टम प्रणालीलाई ७० जिल्लामा विस्तार गरिने जानकारी दिए ।

चलचित्रबाट प्राप्त हुने आयलाई पारदर्शी बनाउन चलचित्र घरमा बक्स अफिस प्रणाली लागू गर्ने, विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विज्ञापनसम्बन्धी कानूनको मस्यौदा तयार गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारी इमेल प्रणालीलाई भरपर्दो र सुरक्षित बनाउन तीन महिनाभित्र सबै केन्द्रीय निकायमा त्यसको प्रयोग गरिने कार्ययोजनामा उल्लेख छ । सय दिनभित्र एनालग प्रणालीमा भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रुपान्तरण गरी देशभरबाट एनलग प्रणाली बन्द गरिने छ ।

हाल मन्त्रालयबाट भइरहेको प्रसारण संस्थालाई इजाजत दिने तथा रेडियो उपकरणको लाइसेन्स दिने कार्य मन्त्रालय मातहतका विभाग र प्रदेश सरकारका मन्त्रालयबाट गर्ने गरी व्यवस्था मिलाइने छ ।