१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लाखौँ विदेशीलाई नेपाली नागरिकता ! गृहमन्त्रीले भने– छानबिन हुन्छ


0
Shares

काठमाडौं, मंसिर २ । गृहमन्त्री रामबहादुर थापाले ठूलो आर्थिक चलखेल गरी लाखौँ विदेशीलाई नेपाली नागरिकता वितरण गरिएको भन्दै विदेशीलाई दिइएको नागरिकताको छानविन गर्ने उद्घोष गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा गृहमन्त्री थापाले नागरिकता वितरणमा आर्थिक चलखेल गरेर अनागरिकलाई नागरिक र नागरिकलाई अनागरिक बनाउने काम भईरहेको दाबी पनि गरे ।

नागरिकतामा जथाभावी गर्दा कयौँ राष्ट्रको अखण्डता गुमेको भन्दै गृहमन्त्री थापाले यो विषयमा सरकार संवेदनशील रहेको बताए ।

अङ्गीकृत नागरिकताका कारण राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डतामाथि असर पर्ने हुनाले नागरिकता समस्यालाई ठिक ढंगले हल गर्न नसके मुलुकको राष्ट्रियता खतरामा पर्ने उनले बताए ।

समितिका सदस्यहरुले विदेशीले नागरिकता पाएको विषयमा गृहमन्त्रीको धारणा मागेका थिए । सांसद प्रेम सुवालले ४० लाख विदेशीले नेपाली नागरिकता लिन सफल भएको भनेर भारतीय प्राध्यापकले आफ्नो पुस्तकमा लेखेको स्मरण गराए ।

बैठकमा समितिका सदस्यहरुले नागरिकता राष्ट्रिय सुरक्षा, अखण्डता र सार्वभौमिकतासँग जोडिएकाले गम्भिर छलफल गर्नुपर्ने धारणा राखेका थिए ।