प्रदेश नम्बर–२ मा थप ८ दिन सार्वजनिक बिदा • Image Khabar Image Khabar


प्रदेश नम्बर–२ मा थप ८ दिन सार्वजनिक बिदा


Imagekhabar
१० बैशाख २०७५, सोमबार १६:४५

प्रदेश नम्बर–२ मा थप ८ दिन सार्वजनिक बिदा

प्रदेश नम्बर–२ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालकाअनुसार छठपर्व र होलीमा दुई/दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारले निर्णय गरेको छ ।

प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिने निर्णय गरेको दाहालले बताए ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । मधेस आन्दोलन स्मृति दिवस माघ ५ गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाअनुसार इस्लाम धर्मावलम्बीले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइनेछ ।

प्रदेश सरकारले थप ८ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको करिब दुई साता बितिसक्दा पनि संघीय सरकार मातहतको मुद्रण विभागबाट प्रकाशन भएको छैन ।

कुनैपनि कानुन वा निर्णय मुद्रण विभागमा प्रकाशित गरेपछिमात्र कार्यान्वयनमा आउने प्रावधान रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारसँग आफ्नै मुद्रण विभाग नहुँदा संघीय सरकारको सूचना तथा सन्चार मन्त्रालयअन्तर्गत् रहेको विभागमा प्रकाशित गर्नुपर्छ ।

प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय काठमाडौं पठाएको एक साता भइसकेको आन्तरिक मामिला मन्त्रालय स्रोतले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्