
वि.सं. २०६३ वैशाख ११ गते वर्तमान राजनीतिक परिवर्तनको प्रस्थानविन्दु थियो ।
राजनीतिक दृष्टिले संविधानसभाबाट संविधान जारी हुनु, मुलुकको राजनीति स्थिरतातिर उन्मुख हुनुलाई उपलब्धिकारुपमा विश्लेषण गरिएको छ ।
२०६३ साल वैशाख ११ गते नेपालको राजनीतिका लागि ऐतिहासिक दिन थियो । आजकै दिन हजारौं मानिस सडकमा ओइरिएर २४० वर्ष पुरानो राजतन्त्रलाई घुँडा टेक्न बाध्य बनाएका थिए । त्यही आन्दोलनले गर्दा नयाँ संविधान, गणतन्त्र र संघीयतासम्म सम्भव भयो ।
त्यही आन्दोलनले सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर मुलुकले १० वर्षे युद्धबाट मुक्ति पायो ।
राजनीतिक उपलब्धिका दृष्टिले २०६२–०६३ को जनआन्दोलन नेपालको सबैभन्दा ठूलो राजनीतिक उपलब्धि हो ।
नागरिकलाई स्वतन्त्रता र लोकतन्त्र दिने जनआन्दोलनको राजनीतिक महत्व विशिष्ट भएपनि यसबाट आमजनता लाभान्वित हुन सकेका छैनन् ।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले राजनीतिकरुपले उपलब्धिपूर्ण भएपनि आमजनताका अपेक्षा पूरा हुन नसकेको टिप्पणी गरे ।
लोकतन्त्र प्राप्तीपछि १२ वर्षको अवधिमा बलिदानी दिने जनताले नभइ त्यागको लाभ राजनीतिक नेतृत्वलेमात्रै लिए । १२ वर्षमा ११ पटक सरकार फेरिए । दलहरुले आपसमा बाँडीचुडी सत्ता र शक्तिको उपभोग गरे ।
राजनीतिक नेतृत्व र तिनका आसेपासेको जीवनमामात्रै रातारात कायापलट भयो । तर, जनताको दुःख र पीडा जस्ताका तस्तै छन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले राजनीतिक नेतृत्वको अकर्मन्यताले लोकतन्त्र स्थापनापछि पनि सरकारले जनताको जीवनस्तर उठाउन कुनै काम नगरेको टिप्पणी गरे ।
राजनीतिक नेतृत्वको दलकेन्द्रित, व्यक्तिकेन्द्रित र आत्मकेन्द्रित कार्यशैलीले जनतामा वितृष्णा र निराशा छाउने खतरा रहेको बताउँछन्, बारका पूर्वअध्यक्ष थापा ।
राजनीतिक नेतृत्वले राज्य संचाचलनको शैली नफेरे जनताले वर्तमान व्यवस्थाकै विकल्प खोज्नसक्ने बताउँछन्, पत्रकार महासंघका पूर्वअध्यक्ष निष्ठुरी ।
प्रतिक्रिया दिनुहोस्