Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


कांग्रेस बैठक आज पनि बस्दै, नेविसंघको विवाद टुंगो लाग्ने


0
Shares

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको विगत लामो समयदेखिको विवाद आज टुंगो लाग्ने भएको छ ।

नेविसंघको केन्द्रीय कार्यसमितिको समयावधि आज बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा हिजो बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आज टुंगो लगाउने निर्णय गरेको हो ।

नेविसंघको विधानमा प्रक्रियागत सहमति खोज्ने भन्दै बैठक आजसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज दिउँसो २ बजे बस्ने बैठकमा नेवि संघको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा.प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउने बताए ।

यसअघि हिजो दिउँसो २ बजेका लागि बोलाइएको बैठक संस्थापन  र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नेविसंघको महाधिवेशनका विषयमा कुरा मिल्न नसकेपछि निकै ढिला गरी साँझ अबेर मात्र बसेको थियो ।

आफू अनुकुलको निर्णय हुनुपर्ने भन्दै हिजो दिनभर नेविसंघका दुवै पक्षका विद्यार्थीले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका थिए ।

सभापति शेरबहादुर देउवा अहिलेकै नेतृत्वमा अधिवेशन गराउने पक्षमा छन् भने बरिष्ठ नेता पौडेल पक्षधर भने तदर्थ समिति बनाएर अधिवेशन गराउने दाउमा छन् ।