
काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणको कामलाई गति दिन निर्देशन दिएका छन् ।
२०७२ वैशाखमा गएको भूकम्पबाट प्रभावितहरुको सम्झनामा आज काठमाडौंको धरहरा छेउमा आयोजित कार्यक्रममा उनले पुनर्निर्माणको काममा भएको ढिलाईप्रति असन्तुष्टि जनाए ।
भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि भौतिक संरचनाको हालत भग्नावशेषको रुपमा हुनु दुःखद् भएको भन्दै ओलीले चाँडै पुनर्निर्माणको कामलाई तिव्रता दिने आश्वासन दिए ।
पुनर्निर्माणको गति यस्तै भए पाँच वर्षभित्र पनि भौतिक संरचनाको पुनर्निर्माण सम्पन्न गर्न कठिन हुने उनको भनाई थियो ।
उनले ‘म बनाउँछु मेरो धरहरा’ अभियानले गति लिन नसकेको स्वीकार गर्दै चाँडै जनस्तरबाट धरहरा निर्माण गरिने पनि बताए ।
राष्ट्रलाई पुनर्निर्माणतिर संकल्प केन्द्रीत गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले अहिले निराश भई नहाल्न पनि आग्रह गरे ।
अब सुरक्षित, सम्पदाले भरिपूर्ण र समृद्धिको मार्गसहितको नयाँ नेपाल हुने विश्वास उनले दिलाए ।
दक्ष जनशक्ति र कानुनी अड्चनका कारण पनि पुनर्निर्माणको कामले गति लिन नसकेको प्रधानमन्त्रीको भनाई थियो ।
उनले सम्पूर्ण प्रयासलाई राष्ट्र निर्माणमा केन्द्रीत गर्ने र मुलुकमा फाँसिवाद हैन जनवाद र समृद्धिवाद आउने जिकीर गरे ।
प्रधानमन्त्री ओलीले भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
त्यसैगरी घाईतेहरुप्रति स्वास्थ्यलाभको कामना गर्दे भूकम्पपीडितहरुको गुनासालाई सरकारले उचित सम्बोधन गर्ने आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस्