११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


पशुपति क्षेत्रमा मौलिकता मेटियो, खोइ भकारी र सिँढी ? (भिडियो)


0
Shares

नवीन शर्मा/राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार १२ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका परम्परागत संरचनाको पुनःनिर्माण सन्तोषजकरुपमा भइरहे पनि केही संरचना भने जथाभावी निर्माण गरिँदा प्राचीन मौलिकता संकटमा पर्न थालेको छ ।

पशुपतिको गौरीघाटदेखि गुह्वेश्वरीसम्म वाग्मतीछेउका केही संरचना मौलिक स्वरुप बिग्रने गरी बनाइएको हो । वाग्मतीछेउको पुरानो संरचनालाई तोडमोड गरी आधुनिकीकरण गरिएको छ ।

पुरानो शैली जीवन्त राख्नु त कता हो कता ? जथाभावी ढंगले बालुवा र सिमेन्टको मिसावट गर्दै क्रंकिटबाट संरचना बनाइएपछि सर्वसाधरण आश्चर्यमा परेका छन् ।

पशुपति क्षेत्र विकास कोषले निर्माणको जिम्मा लिएको निकायलाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरी ढुंगाको साटो बालुवा र सिमेन्ट प्रयोग गरिएको हो ।

पुरानो शैली मेटाइएकामा पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाउँदै दुःख व्यक्त गरेको छ ।

पशुपति आर्यघाटदेखि झन्डै गौरीघाटसम्म परम्परागत शैलीमा बनाइएका भकारी र सिँढीलाई निरन्तरता नदिइ त्यसदेखि पर गुह्वेश्वरीसम्मका संरचना आफ्नै ढंगले बनाइँदा मौलिकता मेटिएको हो ।

निर्माणअघि पशुपति क्षेत्र विकास कोष, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र निर्माणको जिम्मा पाएको जल उत्पन्न प्रकोप आयोजनाको बैठक बसेर मौलिकता जोगाउन सहमति पनि भएको थियो ।

परम्परागत शैलीमै बनाइने भन्दाभन्दै अटेर गरिएकामा कोष पदाधिकारी रोष प्रकट गर्दछन् ।

विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको अस्तित्व जोगाइराख्न मनलाग्दीरुपमा भइरहेका निर्माण रोक्न तीर्थालु पनि माग गर्दछन् ।

हुन त भूकम्पपछि पशुपति क्षेत्रमा अधिकांश संरचना परम्परागत शैलीमा नै बनाइएका छन् । तर, केही संरचना निर्माणमा भने जथाभावी गर्दा विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको शोभा नै घट्ने त होइन ? भन्ने प्रश्न उठेको छ ।

भिडियो हेर्नुहोस्