Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


पोखरामा ‘हट एअर’ बेलुनको व्यावसायिक उडान सुरु


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, मंसिर १ । पोखराको फेवाताल किनारमा शनिबारदेखि ‘हट एअर’ बेलुनको व्यावसायिक उडान सुरु गरिएको छ ।

गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बेलुनको पहिलो उडान गरेर व्यावसायिक उडानको सुरुआत गरे ।

पोखराको जनसंख्या बराबर पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्यलाई यसले सहयोग पुग्ने र पर्यटकका लागि नयाँ आकर्षण बन्ने मुख्यमन्त्री गुरुङले बताए ।

बेलुनमा उडेर पोखराबजार, फेवाताल र हिमालको दृश्यावलोकनका साथै सूर्योदयसमेत अवलोकन गर्न सकिन्छ ।

बेलुनमा ५०० मिटर उचाइसम्म उडान भर्नेगरी व्यवस्था मिलाइएको जनाइएको छ ।

साहसिक खेलकारुपमा लिइएको हट एअर बेलुनबाटै स्काइडाइभ, बन्जीजम्प पनि सन्चालन गर्ने लक्ष्य रहेको बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रविण महर्जनले बताए ।

पोखरामा पाराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्प, जिपलाइनलगायतका साहसिक खेल हुँदै आएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धम्पुस र पोखरा महानगरपालिकाको लौरुकबाट बिहान सूर्योदय अवलोकन गर्नेगरी बेलुन उडान गरिनेछ ।

करिब एक घन्टा दृश्यावलोकन गर्दै हेम्जा र मादीखोलाको किनारमा बेलुन अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।

पाँचजना युवा व्यवसायीले करिब डेढ करोड रुपैयाँ लगानीमा दुईओटा हट एअर बेलुन सन्चालनमा ल्याएका हुन् ।

बेलुनको सुरक्षित उडानका लागि दक्ष पाइलट र इन्जिनियर नियमित खटिनेछन् ।

बेलुनमा एकपटकमा ८ जनासम्म उड्नसक्ने जनाइएको छ । बेलुन प्रतिघन्टा ६ देखि ८ किलोमिटर उड्ने सन्चालकको दाबी रहेको छ ।

बेलुनबाट दृश्यावलोकन गर्न नेपाली पर्यटकलाई प्रतिव्यक्ति एक घन्टाको ११ हजार रुपैयाँ र विदेशी पर्यटकलाई १६० डलर लाग्ने जनाइएको छ ।

२५ मिनेटको ‘थेथर फ्लाइट’को नेपाली प्रतिव्यक्तिलाई ६ हजार र विदेशीलाई ९० डलर लाग्नेछ ।