७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नेपालगन्ज ‘नो हर्न’ घोषित


0
Shares

बाँके, मंसिर १ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ ।

ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले नेपालगन्ज उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको छ ।

‘नो हर्न’ अभियानअन्तर्गत् शनिबारदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ ।

नेपालगन्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी–साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए ।

उनकाअनुसार मंसिर महिनाभर अभियान सफल पार्न व्यापक प्रचार–प्रसार गरिनेछ ।

नेपालगन्जलाई पूर्णरुपमा हर्न निषेधित नगर घोषणा गर्न मंसिर महिना सरोकारवाला र संघ–संस्थाको समन्वयमा जनचेतनामूलक कार्यक्रम सन्चालन गरिने उनले बताए ।

निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरे ।

नेपालगन्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सन्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार बढ्दो सवारी–साधनको चापका कारण नगर क्षेत्रमा अत्यधिक ध्वनि प्रदूषण भएपछि हर्न निषेधित गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेकाअनुसार पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र अभियान लागू गरिएको छ ।

अभियान सुरु भएसँगै अब सवारी–साधनले हर्न बजाए रु एक हजार ५०० जरिवाना गरिनेछ ।

पछिल्लो समय नेपालगन्जमा ध्वनि प्रदूषण बढ्दै गएपछि अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘बढ्दो ध्वनि प्रदूषणले चुनौती थपेको छ । बजारमा हिँड्दा सवारी–साधनको हर्नका कारण केही सुनिँदैन’–प्रहरी निरीक्षक रोकायले भने–‘त्यसैले नियन्त्रणका लागि अभियान सन्चालन गरिएको हो ।’ रासस